२०८१/०४/१३
प्रेस विज्ञप्ति
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय राजिव गुरुङले पत्रकारलाई कुट्नुपर्ने भनि दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको छ । यातायात व्यवसायीहरुको आन्दोलनका क्रममा पत्रकार माथि भएको कुटपिटको विषयलाई लिएर कानून कार्यान्वयनको जिम्मेबार तहमा बसेको मन्त्रीबाट नै अर्को पत्रकार कुट्नुपर्ने भन्दै आएकोे अभिव्यक्तिले सबै पत्रकार असुरक्षीत भएको महसुस भएको छ । मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रकै विरुद्धको यो अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति खेद प्रकट गर्दछ । यातायात व्यवसायीको आन्दोलनको क्रममा आइतबार बिहान पत्रकार विनु थापा र सुरज थापा माथि सांघातिक आक्रमण भएको थियो । उक्त आक्रमणको विषयमा पत्रकारलाई नै दिएको प्रतिक्रियामा मन्त्री गुरुङले आफूले गञ्जी लगाएको तस्बिर सार्वजनिक गरेको भन्दै अनलाईन खबरका गण्डकी व्युरो प्रमुख अमृत सुवेदीलाई आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिएका हुन् । जिम्मेवार मन्त्रीले दिएको यो अभिव्यक्तिले ‘गण्डकी प्रदेश सरकारको पत्रकार प्रतिको दृष्टिकोण नै सार्वजनिक भएको त होइन ?’ भन्ने प्रश्न समेत उब्जिएको छ । यस्तो अभिव्यक्ति दिने मन्त्री उपर कारबाही गर्दै कानूनी राज्यको प्रत्याभूति दिन गण्डकी प्रदेश सरकारसंग महासंघ जोडदार माग गर्दछ । साथै पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण प्रदान गर्न गण्डकी प्रदेश सरकारसंग नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति आग्रह गर्दछ ।
–गोविन्द प्रसाद सुवेदी
-महासचिव
न्यूजरेखा । १२ श्रावण २०८१, आईतवार १७:३९