विराटनगर । कोसी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्। सभामुख गौतमले मंगलबार उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । सचिव गोपाल पराजुलीले सभामुख गौतमको राजीनामा प्राप्त भएको जानकारी दिए। राजीनामासँगै गठबन्धनका तर्फबाट कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री दाबी गर्न बहुमत पुगेको छ । गौतम २०७९ पुस २८ गते कोसी प्रदेशको सभामुख निर्वाचित भएका थिए ।
उनी माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । केही दिनदेखि काठमाडौंमा रहेका उनले मंगलबार विराटनगर आइपुग्नसाथ राजीनामा दिएका हुन् । गौतमको राजीनामासँगै गठबन्धनका तर्फबाट बहुमत पुगेको दाबी पेस गर्न नेताहरु प्रदेश प्रमुखको कार्यालयतिर लागेका छन् ।
कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कांग्रेसका २९,माओवादीका सभामुखसहित १३,नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरेर गठबन्धनसँग ४७ सांसद पुग्छन् । प्रदेशसभाकै ठूलो दल नेकपा (एमाले)का ४० र राप्रपाका ६ गरेर ४६ सांसद छन् ।
। १६ श्रावण २०८०, मंगलवार १६:४८