गाउँमै सञ्चालन भएको रोजाई आवाज र प्रतिवद्धता कक्षाले समुदायको व्यवहारका साथै सामाजिक, साँस्कृतिक लैङ्गिक मूल्य मान्यतामा सकारात्मक परिवर्तन ल्याएको छ भने बालविवाह र किशोरावस्थामा हुने गर्भधारणमा कमी आएको छ ।
हिक्मतबहादुर नेपाली
दैलेख । गुराँस गाउँपालिका–४ रतिखोला गाउँका सुमन नेपाली उमेरले १२ वर्ष पुगे । उनि गाउँकै लक्ष्मी मावीमा कक्षा ८ मा अध्ययनरत छन् । उनि बुबा, आमा बज्यै र दुई दिदिको साथमा बस्दै आएका छन् । उनका बुबा कर्णबहादुर नेपाली ढाडको समस्यासँग जुधिरहेका छन् । घर निर्माणको काम गर्दा छतबाट लडेर उनको ढाड भाँचिएको छ । सुमनकी आमा र दिदिहरुले खेतीपाती र मजदुरी गरेर परिवारको गर्जो टारिरहेका छन् । पारिवारिक समस्यामा गुज्रीएका सुमनले विद्यालय शिक्षाबाहेक जीवनोयोगी सिप सिक्नबाट बञ्चित थिए । दुईचार जना मान्छे उभिएको ठाउँमा निर्धक्क बोल्न सक्दैनथे उनि । अहिले उनि बोल्नलाई कसैसँग डराउँदैनन् । आफुलाई थाहा भएका कुरा प्रष्टैसँग राख्छन् । थाहा नभएको कुरा सोधिहाल्छन् ।
उनमा आएको यो परिवर्तनको पछाडी रोजाई कक्षाको देन छ । कक्षामा उनले जीवनोपयोगी सिप सिक्ने अवसर पाएका छन् । ‘म बोल्न डराउथेँ, बढि रिसाहा थिएँ, साथीहरुसँग झगडा परिरहन्थ्यो, घरमा आमाबुबाले भनेको कुरा मान्दैनथे, रोजाई कक्षामा सहभागि भएपछि मेरो दैनिकी नै परिवर्तन भएको छ,’ उनले भने । आजभोली विद्यालय समयबाहेकको समयमा घरपरिवारलाई सघाउने, साथीहरुसँग मिलेर बस्ने गर्छन् उनि । रिसाउने बानी कम भएको सुमन बताउँछन् । यतिमात्र होइन्, बालविवाह गर्नुहुँदैन्, छोराछोरीबीच विभेद गर्नुहुँदैन्, भन्नेबारे सचेत भएका छन् उनि । आफुमा भएका गलत व्यवहारहरु सच्चिएको सुमनको भनाई छ ।
सुमनजस्तै सोहि गाउँका १२ वर्षिय केशव विक पनि रोजाई कक्षामा नियमित उपस्थित हुन्छन् । लक्ष्मी मावीमा कक्षा ७ मा अध्ययनरत उनको जीवनमा पछिल्लो समय थुर्पै परिवर्तन आएको छ । साथीहरुसँग झगडा गर्ने, गाली गर्ने, घरमा भनेको नमान्ने, विद्यालयको गृहकार्य नगर्ने स्वभावका केशव भन्छन् ‘रोजाई कक्षाले मेरो जीवनमा धेरै परिवर्तन ल्यायो ।’ उनि आजभोली नियमित गृहकार्य गर्छन् । साथीहरुसँग मिलेर बस्छन् । केशव र सुमनमात्रै होइन, स्थानीय ११ वर्षिय सविता गुरुङ्गको जीवनमा रोजाई कक्षाले ठूलो परिवर्तन ल्याएको छ । आमाबुबा, भाउजु र दुई दाजुको साथमा बस्दै आएकी सविता भन्छिन् ‘रोजाई कक्षामा सहभागि भएर विभिन्न क्रियाकलापहरुका विषयबस्तुहरु सिक्ने अवसर पाएँ, त्यहि अनुसार दैनिक जीवनमा लागु गरिरहेको छु ।’
गाउँमै सञ्चालन भएको रोजाई कक्षामा बालबालिकाहरुले विभिन्न नौ वटा क्रियाकलापमाथी अध्ययन तथा छलफल गरेका छन् । छोरा र छोरीबीच विभेद गर्नुहुँदैन्, सम्मान पाउने कमाउने, खुलेर माया गर्ने, सपनाको लागि इन्धन, एउटा पाईला लगाएतका विषयहरुबारे अध्ययन गर्छन् । साथीहरुबीच छलफल गर्छन् । कक्षामा सिकेको र छलफल गरेको ज्ञान र सिप व्यवहारमा लागु गरिरहेको रोजाई कक्षामा सहभागि ११ वर्षिय सन्तोष नेपालीले बताए । उनले २० वर्ष उमेर नपुगी विवाह गर्नुहुँदै भन्ने ज्ञान कक्षाबाटै पाएका छन् ।
रोजाई आवाज र प्रतिवद्धता कक्षाले समुदायको व्यवहारका साथै सामाजिक, साँस्कृतिक लैङ्गिक मूल्य मान्यतामा सकारात्मक परिवर्तन आएर बालविवाह र किशोरावस्थामा हुने गर्भधारणमा कमी ल्याएको सोसेक नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले बताए । ग्रामीण क्षेत्रमा अझै पनि छोरालाई मान्यता दिने चलन कायमै छ । कक्षा सञ्चालन भएयता छोराछोरीबिच गरिने विभेदमा कमी आउन थालेको छ । ‘पहिला छोराछोरी बिच विभेद थियो, छोरालाई नीजि विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पढाउने गरिन्थ्यो, घरको कामकाजमा छोरीलाई लगाउने र छोरालाई विद्यालय पठाउने पनि चलन थियो,’ उनले भने ‘अहिले छोराछोरीबिच हुने विभेदमा कमी आएको छ ।’
। २९ असार २०८०, शुक्रबार ११:३८