४७ वर्षपछि घर पुगे बलबहादुर

काठमाडौँ – आठवर्षे उमेरमै बर्दियास्थित मूलघर छाडेर परदेसिएका बले क्षेत्री भण्डारी (बलबहादुर) ४७ वर्षपछि आफ्नो गाउँ फर्कंदा सुरुमा अलमल्ल परिरहे । आफूले जीवनमा नदेखेका नातागोताको हुलमा उनले ‘धन्यवाद–धन्यवाद’ मात्रै भन्न सके ।

हराएको दशकौंपछि चार वर्षअघि एकाएक कराची जेलमा भेटिएका बलहादुर इस्लामाबादस्थित नेपाली दूतावासको पहलमा सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन् । अहिले बाँके, हवल्दारपुर बस्दै आएका बलरामका भाइ गुमानसिंह दाजुलाई लिन काठमाडौं आएका थिए ।

आर्थिक स्थिति कमजोर भएका दाजुभाइमध्ये कराचीबाट फर्किएका बलबहादुरलाई होटल क्वारेन्टाइन र काठमाडौं–नेपालगन्ज फिर्ती टिकट वैदेशिक रोजगार बोर्डले बेहोरेको थियो । भाइ गुमानसिंहका लागि फिर्ती टिकट बुद्ध एयरका नेपालगन्ज इन्चार्ज विनीत शाहले बेहोरेका थिए । बलबहादुरलाई नेपालगन्जस्थित सामाजिक संस्था ‘अन्तराल’, फनपार्क ह्यापी वल्र्डका प्रबन्धक विजय भण्डारी र रक्षक सेक्युरिटिजको समूहले नेपालगन्ज एयरपोर्टमा स्वागत गरेको थियो । रोजगारीका क्रममा भारतको मुम्बई, मद्रास, केरलादेखि गुजरातसम्म चहारेर घर फर्कन नपाइरहेका बलबहादुरले अब आफ्नै घरगाउँमा सानोतिनो काम गरेर बस्ने इच्छा राखेका छन् । उनलाई फनपार्क ह्यापी वल्र्डसहितका नेपालगन्जका स्थानीय संघसंस्थाले रोजगारी दिने भएका छन् ।

भारतको गुजरातमा मछुवार काम गर्न गएका नेपालीहरू यसअघि पनि पाकिस्तानको कराची जेलमा थुनिएर घर फिर्ता हुँदै आएका थिए । इस्लामाबादस्थित नेपाली राजदूत तापस अधिकारीका अनुसार पछिल्लो सूचनामा अहिले कराची वा अन्य सीमावर्ती जेलमा कोही पनि नेपाली छैनन् ।

पूर्व परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले कराची जेलबाट उद्धार गरेर ल्याइएका बलबहादुरको समाचारलाई ‘तत्काल सुखान्त लागे पनि दर्दनाक प्रतिनिधि कथा’ भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । ‘राजदूत र नियोगहरूले सम्बन्धित मुलुकका जेलमा आफ्ना नागरिक छन् कि भनी खोजी गरेमा धेरै जानकारी आउने र उद्धार गर्न सकिने अनुभव छ । विगतका पटके प्रयासहरू नियमित र स्वत:स्फूर्त बन्न सकून्,’ उनले लेखेका छन् ।

ekantipur