रारामा घट्दै असला माछा

मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा असला माछाको संख्या घट्दै गएको छ । जलवायु परिवर्तनको असरका कारण रारामा माछा घट्दै गएको अनुसन्धानकर्ता बताउँछन् । माछाका कारण रारातालको सौन्दर्यमा टेवा पुगे पनि माछाको संख्या बर्सेनि घट्दै गइरहेको मुर्माका बिर्खबहादुर रोकायाले बताए ।

‘१० वर्षअघिसम्म रारामा माछा लस्करै देखिन्थे,’ उनले भने, ‘अहिले थोरै मात्रामा माछा देखिन थालेका छन् ।’ उनले वर्षा र हिमपात धेरै भए रारामा माछाको संख्या बढ्ने अनुमान गरे ।

रारामा पाइने असला माछा चिसोमा बढी फस्टाउने अनुसन्धानकर्ता तेज थापाले बताए । उनका अनुसार जलवायु परिवर्तनका कारण फट्यांग्रा, गड्यौलालगायत किराहरू लोप हुँदा पनि माछाको संख्या घट्दै गएको पाइएको छ । ‘माछालाई आहाराको जोखिम खेप्नुपरेको छ,’ उनले भने, ‘तापक्रम बढ्दा पनि माछाहरू घटिरहेका हुन् ।’ उनले रारामा फोहोर बढ्दा पनि माछाको संख्या कम भएको बताए । रारा घुम्न आएका पर्यटक, बटुवा, स्थानीयवासी र होटल व्यवसायीका कारण तालक्षेत्र फोहोर बन्दै गएको छ । रारा आसपास भौतिक पूर्वाधार निर्माणका काम हुँदा पनि यस क्षेत्रको पर्यावरण बिग्रिन पुगेको थापा बताउँछन् । ‘पूर्वाधार निर्माण गर्दा प्रयोग हुने सिमेन्ट, स्टिल, डिजेलजस्ता हानिकारक वस्तु तालमा पर्दा पनि माछाको संख्या घटिरहेको पाइयो,’ उनले भने, ‘फोहोरको असर पनि माछाको प्रजनन प्रक्रियामा देखिएको छ ।’

२०३५ सालअघि राराताल नजिकैको छाप्रु महादेवमा बाक्लो बस्ती थियो । गाउँवरपर लगाइएको जग्गामा गहुँ, जौ, चिनो, कागुनोलगायत अन्नबाली र फलफूलको उत्पादन प्रशस्त हुन्थ्यो । वर्षाका कारण खेतबारीबाट बगेको अन्न रारामा आउँदा माछाको आहारा बन्ने गरेको संरक्षणकर्मी बताउँछन् । तर २०३५ सालमा सरकारले रारा क्षेत्रलाई निकुञ्ज घोषणा गरी बस्तीलाई बाँकेको चिसापानी पुर्‍याएपछि त्यहाँको जमिन बाँझिँदै गएको हो । राराताल आसपासका क्षेत्रमा अन्नबाली नलगाइँदा पनि माछाको आहारामा कमी आएको संरक्षणकर्मी थापाले बताए । उनका अनुसार हरेक वर्षको खडेरीले रारातालको पानीमा मिसिने झन्डै ३ सय खोलानाला सुकेपछि पनि माछाका लागि पानीमार्फत आउने आहारा घटेको हो । ‘केही वर्षयता खोलानाला सुकेपछि किरा, फट्यांग्रा पनि बगेर आउन छाडेका छन्,’ उनले भने, ‘जसका कारण माछालाई आहाराको कमी भयो ।’

२०७४ मा त्रिभुवन विश्वविद्यालयबाट खटिएका माछा विशेषज्ञको टोलीले पनि राराका माछाबारे अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानले भोकमरीले माछामा छिप्रे टाटेपाटे रोग देखा परेको पुष्टि गरेको थियो । रारातालमा विशेषगरी ३ प्रकारका असला माछा पाइने गरेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार रारामा कालो, सेतो र थेप्चे प्रजातिका असला माछा पाइने गरेका छन् । २०४० सालमा जापानबाट आएको अध्ययन टोलीले पनि माछाबारे अध्ययन गरेको मुर्माका रोकायाले बताए । ‘टोलीले पानीसहित राराको असला माछा जापान लगेको थियो,’ उनले भने, ‘तर त्यहाँ उत्पादन गर्दा सफल नभएको टोलीले धेरै वर्षपछि जानकारी गराएको थियो ।’ उनका अनुसार उक्त टोलीले रारातालमा ११ किलोसम्मका माछा पाइएको जनाएको थियो ।

स्थानीयले जथाभावी माछा मार्दा पनि रारामा असलाको संख्या घट्दै गएको हो । निकुञ्ज आसपासका टोप्ला, माथितुम, ताल्चालगायत गाउँका स्थानीयले जाल, बल्छीलगायतको प्रयोग गरी जथाभावी माछा मार्ने गरेका छन् । मिलीचौर, महादेव मन्दिरलगायत क्षेत्रमा स्थानीयले पशुचौपाया चराउन लैजाने र सेना तथा निकुञ्जका कर्मचारी नभएको मौका छोपी माछा मार्ने गरेका छन् ।

‘माछा मार्न नदिन दिउँसो सबैतिर गस्ती गर्ने गरेका छौं,’ निकुञ्जका अधिकृत बद्रीविनोद दाहालले भने, ‘कसैले त राति लुकेर पनि माछा मार्ने गरेको भेटियो ।’ दिउँसो निकुञ्जका कर्मचारी र सेनाले पक्राउ गर्ने भएकोले राति टर्च बालेर पनि माछा मार्नेहरू बढेको उनको भनाइ छ । उनका अनुसार माछा मार्ने र चोरीसिकार गर्नेलाई निकुञ्जको ऐन–नियमअनुसार कारबाही भइरहेको छ ।