दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ : माओवादी केन्द्र

काठमाडौँ — माओवादी केन्द्रले दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएको छ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतले क्षमायाचना गर्नुपर्ने बताएका हुन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा नेता श्रेष्ठले भने, ‘दार्चुला घटनामा भारतले अविलम्ब नेपाल र नेपाली जनतासमक्ष सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्छ ।’

त्यस्तै उनले नेपाल सरकारले बनाएको छानबिन समितिले पनि तत्काल सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही र पीडितलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरे । उनले अबका दिनमा ‘हेपाहा प्रवृत्तिका काम नगर्न’ भारतलाई चेतावनी पनि दिएका छन् । पछिल्लो घटनाको कूटनीतिक पहलबाट समाधान निकाल्ने प्रयास राम्रो भए पनि छानबिन समितिको रिपोर्ट छिटोभन्दा छिटो सार्वजनिक गरी भारतसमक्ष गम्भीर विरोध जनाउनुपर्ने श्रेष्ठको माग छ ।

‘छानबिन समितिको रिपोर्ट ल्याएर भारत सरकारसँग छिटोभन्दा छिटो गम्भीर विरोध जनाउनुपर्छ र दोषीलाई कारबाहीको माग तथा पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

त्यस्तै उक्त घटनाबाट नेपाली जनतामा पीडा उत्पन्न भएको श्रेष्ठले बताए । ‘नेपाली जनतामा यस प्रकारको अमानवीय र क्रुर घटनाबाट जुन पीडा पैदा भएको छ । त्यो पीडाले देशभक्तिको बाँध भत्काएर आफै प्रतिकार र प्रतिवादमा आउने कार्य ठीक हुँदैन । त्यसैले सरकारले यस विषयलाई तत्काल सम्बोधन गर्नुपर्छ,’ उनले भने ।

महाकाली तर्दातर्दै एसएसबीले ‘तुइन काटिदिएपछि’ वैदेशिक रोजगारीमा हिँडेका युवक जयसिंह धामी गत साउन १५ गते महाकालीमा बेपत्ता भएका थिए ।