पशुपालन गर्नेलाई सहुलियत कर्जा दिन सम्झौता

पाल्पा — तानसेन नगरपालिकाले वडामा सञ्चालन गरेको कृषि तथा पशु उद्यमशीलता परियोजनाअन्तर्गत कृषि तथा पशुपालन गर्नेहरूका लागि सहुलियत दरको कर्जा प्रवाह गर्न सम्झौता भएको छ ।

तानसेन नगरपालिका, ग्लोबल आईएमई, हेफर प्रोजेक्ट, ग्रामीण आर्थिक विकास संघ रेडाबीच सोमबार सम्झौता भएको हो । सहुलियत दरको कर्जाअन्तर्गत महिलाले २ दशमलव ६ र पुरुषले ३ दशमलव ६ प्रतिशत ब्याज बुझाउनुपर्छ ।

किसानले १० लाखसम्म बिनाधितो कर्जा पाउनेछन् । बैंकका अनुसार मासिक र तीन महिनामा किस्ता बुझाउन मिल्नेछ । ऋण ५ वर्षका लागि हुनेछ । बाख्रापालन गर्दै आएका १ सय ६४, बंगुरपालन गर्ने ६१, कुखुरापालन गर्ने ५४, गाईभैंसी पालन गर्ने ९०, अन्य ५० जना गरी ३ सय ८७ जनाले ऋणका लागि आवेदन दिएका छन् । बैंकले पहिलो चरणमा ५ करोड लगानी गर्ने जनाएको छ ।