सात समुद्र तरेर युरोप-अमेरिका आएको जातीय विभेद

विस्मृतिमा पुगिसकेका कतिपय घटना सम्झन नचाहेर पनि बलजफ्ती स्मृतिमा आउँदा रहेछन्। देशको सीमा काटेर सात समुद्र पार गर्दा पनि पच्छाइरहेको नमिठो सत्य फेरि उकुच पल्टन्छ। सभ्य, शिक्षित र सुसंस्कृत भनिएको युरोपमा पनि नेपाल सम्झाउने कुरा मिठामात्रै छैनन् नमिठा छन्। निकै टर्रामात्रै होइन तितै छन्।

नेपाली समाजमा जात व्यवस्थाले जसरी जरो गाडेको छ, त्यसले त्यहाँको समाजलाई त धुमिल बनाएकै छ। सँगसँगै युरोपसम्म पनि त्यो व्यवस्था नेपालीसँग आएको देख्दा/भोग्दाचाहिँ दु:खद आश्चर्य लाग्छ। जस्तो विभेद र छुवाछुतको सामना हामीले नेपालमा गर्‍यौं, त्यही फेरि युरोपमा आएर भोग्नु पर्दाचाहिँ कहाँ गएर मुक्ति मिल्ने होला भन्ने लाग्छ। युरोपमा जात व्यवस्था र छुवाछुत बोकेर आउने नेपाली नै हुन्। आखिर जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ जात व्यवस्था पुग्दोरहेछ। सात समुद्र तरेर पनि नेपालको जात व्यवस्था युरोप आएको छ।

काठमाडौंमा दलित भएकैले रुपा सुनार कोठा पाइनन्। यहाँ मैले पनि कथित तल्लो जातको भएकाले युरोपमा समेत कोठा पाइनँ। भुल्न चाहने तर, नसकिएको त्यो घटना हो सन् २०१६ को अन्त्यतिरको। डेनमार्कको राजधानी कोपनहेगनमा २ ठाउँमा कथित तल्लो जातको भएकैले मैले कथित गैरदलितको घरमा भाडामा कोठा पाइनँ। त्यतिबेला कोपनहेगनमा अहिले जस्तो सहज रूपमा कोठा पाउन समस्या नै थियो। जहाँ पुगे पनि नेपाली खोज्ने बानीसँगै विदेशीभन्दा आफ्नै देशकासँग कोठा सेयर गर्दा सबै हिसाबले ठिक हुने नै भयो। सुरुका संघर्षका दिनमा परदेशमा सबै हिसाबले सहज नेपालीसँग हुने भइहाल्यो।

आउँदासाथ झन्डै २ वर्ष जति पाकिस्तानीको अपार्टमेन्टमबाट हामीलाई कोठा सर्नै पर्ने भयो। कहाँ पाइएला भनेर खोज्ने क्रममा एक नेपाली दाइले कोठा खाली भएको नेपाली घरभेटीको नम्बर दिनुभयो। मैले फोन गरेँ। कुरा गर्दा कोठा खाली भएको र भाडासम्मको कुरा भयो। हेर्न कहिले आउने भन्ने  कुरा पनि भयो। सप्ताहन्तमा भेट्ने कुरा पक्का भयो। अन्त्यतिर ती घरबेटी महिलाले भनिन्, ‘हजुरको नाम चाहिँ के रे फेरि भन्नु त।’ मैले जवाफ दिएँ, ‘महेश हो दिदी।’

‘अनि के नि ? ‘फेरि उताबाट सोधनी भयो।

‘खाती’ मैले भने।
यो खाती भनेको कुन जात हो र ?
मैले भनेँ, ‘विश्वकर्मा’
केहीबेर सोचेर उताबाट आवाज आयो ‘ए हो।’
‘हजुर।’
उनी चुप रहिन्। केही बेरपछि बोलिन्। ‘ल मैले बुढोसँग सल्लाह गरेर हजुरलाई छिट्टै खबर गर्छु है।’

कोठा पाएँ भनेर मख्ख परेको म उनको कुरा सुनेपछि झसङ्ग भएँ। मनभर निराशा छायो। मनभरि एक किसिमको कम्पन छायो।

खुल्दुली बढ्यो।

लगत्तै मैले भनेँ, ‘अघि त दिने भन्ने कुरा गर्नु भएको हो नी फेरी एक्कासी के भयो र दिदी?’

उनले जवाफ फर्काइन्। ‘बुढासँग सल्लाह गरेर छिट्टै फोन गर्छु है।’

मेरो मनले कुरा बुझिसकेको थियो।

‘हवस’ भन्दै मोबाइलको रातो स्वीच थिचेँ।

मनमा अनेकथरी कुरा खेले। परदेशमा पनि यस्तो विभेद भोग्न पर्‍यो! के गर्ने भन्ने भयो। मलाई थाहा भयो त्यो कोठा पाइने छैन भन्ने। अरूतिर बुझ्न लागेँ। ती दिदीको ३ दिनसम्म फोन आएन।

मलाई नम्बर दिने दाइलाई फोन गरेर सोधेँ।

पढे लेखेका र सामाजिक चेतबाट माथि उठेका ती दाइले औपचारिक कुरापछि कोठाको विषयमा सुरूमै भने, ‘सरी महेशजी दुःख नमान्नुहोस् कोठा नदिने भए।’ मलाई शंका त लागेको थियो त्यही पनि के रहेछ कारण भनेर मैले सोधें ‘के कारणले नि दाइ?’

अलि निराशाका साथ उताबाट आवाज आयो ‘के भन्ने खै उनीहरु देखेर मलाई त लाजै लागेको छ दलित भनेर नदिने रे, प्लीज माइन्ड नगर्नुहोस्, अन्त खोजौं है।’

मैले जे सोंचेको थियो भयो पनि त्यही। मन अशान्त भयो। पीडालाई दबाएर कोठा खोज्न भौंतारियौं। यो व्यथा पराई देशमा कसलाई सुनाउने? के भन्ने ?

झन्डै हप्तादिनपछि अर्को नेपालीको घरमा फोनमा कुरा गरेर कोठा हेर्न गइयो। कोठा खाली थियो। हामीलाई एकदमै जरूरी थियो। जस्तो भए पनि सर्ने भन्ने भयो। कोठा हामीलाई मन पनि पर्‍यो। घरबेटीले पनि राम्रै कुरा गरे। लगभग दिने भन्ने नै भयो।

दुवै पक्ष सहमत भयौं। भाडाको कुरा मिल्यो। एडभान्स पनि दिने भन्ने भयो। कुराको अन्त्यतिर ठ्याक्कै नाम, थर र जातको कुरा आयो। जो ठूलो भिलेन बन्यो। लगभग दिन ठिक्क परेको कुरा एकाएक रोकियो।

कथित उच्च जातकी ती घरबेटी महिलाले एकै छिनमा मुड बदलिन्। केही पनि कारण नभनिकन हामीलाई विदा गर्न आतुर हुँदै भनिन्, ‘ल अहिले एडभान्स नदिनू म पछि कल गर्छु र फाइनल गरौंला है।’

श्रीमती मीराजी र म ट्वाँ परेर केही नबोली निस्कियौं। फर्कंदा बाटोमा दुबैको अनुहार उदास थियो। केही नबोली आइयो। त्यो पल अहिले सम्झँदा पनि मनमा आक्रोशको ज्वालामुखी दन्किन्छ। अनुमान गर्नुहोस् त्यतिबेला हाम्रो मनमा के बिते होला !

२/२ ठाउँमा कथित दलित भनेरै कोठा नपाएको अवस्था थियो। दैनिक जागिर र शिक्षा त छँदै थियो। तनावले मन अशान्त भइरहेको थियो। झनै कोठा नपाउँदाको पीडा मात्रै हैन दलित भनेरै पराई भूमिमा अपमानित हुँदा साह्रै नमजा भयो। त्यो पनि आफ्नै नेपालीबाट। रूपाले कानुनी उपचार खोजिन्। हामीले त्यसो गरेनौं। गर्नुपर्थ्यो। त्यतातिरभन्दा कोठै खोज्ने ध्याउन्न बढी भयो।
कोठा सर्नै डेडलाइन नजिकिँदै थियो। कोठा पाउन उस्तै मुश्किल। तर, सबै विभेदी हुँदैनन्। केही भने गज्जबै जाति पनि भेटिन्छन्। डर र त्रासकैबीचमा कोठा खोज्ने क्रममा एक सिटौला परिवारमा पुगियो। त्यहाँ भने राम्रो व्यवहार भयो। कोठा पाइयो।

त्यो परिवारबाट कुनै प्रकारको असहज भएन। सुमधुर सम्बन्ध रह्यो। विभेदको घाउ बल्झिरहेको बेलामा मल्हम बने उनीहरु।

यो मैले भोगेको घटना भए। केही दिनअघि मात्रै कोपनहेगनमा रहेका एक दलित समुदायका साथीसँग नेपालमा बहस भइरहेको ‘रुपा सुनार विभेद’ सम्बन्धी कुराकानीकै क्रममा उनले पनि यहाँ पनि अलि फरक किसिमको विभेद भोगेको सुनाए। भएछ के भने, पूजा गरेर फर्कंदै गरेकी गैरदलित समुदायकी नजिककी एक महिलासँग ती साथीको जम्काभेट भएछ र हत्त न पत्त तर्कन खोजिछन्। ती साथीले राम्रोसँग विभेद भएको महसुस गरेका छन्। एक दलित विद्यार्थीले कोठा खोज्ने क्रममा एक अगुवा एनआरएनएकर्मीबाट दलितलाई कोठा दिन अलि अप्ठेरो मान्छन् भनेर मुखै फोरेर भनेको कुरा सुनाए।

युरोपमा बस्ने धेरै दलितले यस्ता खालका विभेद भोग्ने गरेका छन्। युरोपको राजधानी बेल्जियममा बस्ने निर्मला परियारले १ वर्षअघि विभेद भोगेको बताइन्। नजिककी गैरदलित साथीको आफन्त नेपालमा बितेछन्। अरू महिलासँग मिलेर उनी ती साथीलाई भेट्न पुगिछन्। तर, निर्मलासँग कुरा गरिछन्। पछि त ती महिलाले ‘निर्मला नआएको भए हुने नी, यस्तो जुठो परेको बेलामा दलितसँग बोल्न हुन्न रे।’ भन्ने कुरा निर्मलालाई अरुले कुरा सुनाएछन्।  यो सुनेपछि धेरै दुःख लागेको उनले सुनाइन्।

गएको वर्ष नोभेम्बर महिनामा युरोपकै साइप्रस आएकी गन्धर्व समुदायकी एक विद्यार्थीलाई गैरदलित केटी साथीले नै विभेद गरेछन्। ‘गैरदलित केटी साथीहरुले कोठामा खाना पकाउन र यताउता गर्न नदिने अलग्गै राख्ने भाँडा मात्रै माझ्न लगाएछन् ती गन्धर्व बहिनीलाई, पछि अन्तै कोठा खोजेर राखियो,’ साइप्रसमा रहेका पत्रकार दिनेश गौतम भने।

उनले अर्को घटना पनि सुनाए, ‘यो वर्षको फेब्रुअरीमा एक गैरदलितले पहिला कोठा भाडामा दिए, पछि  दलित भन्ने थाहा पाएपछि निकालेछन् र नेपाली सेफ हाउसमा लगेर राखियो।’

संसारकै महाशक्ति अमेरिकाको व्यथा पनि यस्तै दुःखद नै छ। धेरै नेपाली रहेको त्यहाँ धेरै नेपाली मान्छे सरह बन्न नपाएको व्यथा छ। संसारकै चर्चित सहर न्युयोर्कमा एक गैरदलितको घरमा एक दलित समुदायका युवाले कोठा भाडाको लागि पक्का गरेछन्। अर्को शहरबाट आएका उनलाई दलित भएको भन्दै नराख्ने निर्णय घरभेटीले सुनाए।

युरोप/अमेरिकामा नेपाली समुदायमा कथित दलित समुदायमाथि विभेद व्याप्त छ। अपार्टमेन्टमा कोठा नदिने, रेष्टुरेण्टमा काम नदिने, पूजाआजा र भोजभतेरमा नबोलाउने, कतिपय पारिवारिक जमघटमा नबोलाउने जस्ता विभेदहरु आफूहरुले भोगेको ‘कथित’ दलितहरुले अनुभव सुनाउनछन्।

यस्ता खालका विभेदका घटना युरोप/अमेरिकामा थुप्रै घट्ने गरेका छन्। यी प्रतिनिधिमूलक घटनाले कुरूप नेपालीको वास्तविकता बोल्छ।

जहाँ नेपाली पुगेका छन्, त्यहाँ विभेद पुगेको छ। यसबाट शिकार जुन स्थानमा र हैसियतमा पुगेका नेपाली दलितहरू भएका  छन्। सन् २०१८ मा युरोप टूरमा आएका अहिलेका चर्चित र लोकप्रिय गायक प्रकाश सपूतले पनि विभेद भोग्नु परेको थियो। एक नेपालीको घरमा विभेद भोगेको व्यथा नेपालको राष्ट्रीय दैनिक पत्रिकामा आएको थियो।

संसारभर छरिएर रहेका सबै गैर दलित माथिका ती पात्र जस्ता मात्रै छैनन्। परदेशमा नेपाली समाजको गलत प्रतिनिधित्व गर्ने ती पात्रहरु यत्रतत्र सर्वत्र छन्। धेरै भने समाज परिवर्तनको अगुवाइमा जहाँ भए पनि विभेद विरुद्ध बोलिरहेका छन्। लेखिरहेका छन्। ‘अमेरिका र युरोपमा पनि यस्ता घटना सुन्दा र हामीलाई मान्छे नठान्दा साह्रै दुःख लाग्छ, जहाँ गएपनि नछाड्ने भयो यो पछौटेपनाले,’ अमेरिका रहेकी अधिकारकर्मी विष्णुमाया परियारले चिन्ता व्यक्त गरिन्।

१ लाख बढ़ी नेपाली सदस्य रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) पनि यस्ता विभेदका घटनामा चुप रहँदै आएको छ। विभेद विरुद्ध कँही आवाज़ उठाउन्न। सामाजिक/ साँस्कृतिक सवालमाथी बहस, अन्तरक्रिया गर्न आवश्यक ठान्दैन।  एनआरएनएका मन्चहरु र सम्मेलनहरु असमावेशि हुन्छन्। परदेशका धेरै नेपाली संगठित भएको यस्ता संस्थाले सामाजिक उत्तरदायित्व निभाउन पर्दैन त ?

नेपाली सत्ताको संरचना जस्तै यो एनआरएनए  पनि दुरुस्तै छ। यसका समितिहरुमा अहिलेसम्म सबै समुदायका अट्नु पर्छ भन्ने व्यवस्था छैन। सामान्य क्लब र संस्थाहरु समेत समावेशी हुन्छन। तर यसलाई अहिलेसम्म यो विषयले छोएको छैन।

‘सम्पन्न र सभ्य मानिने युरोपमा पनि हामीले नेपालीले गर्ने जातीय विभेद विरुद्ध आवाज़ उठाउनु पर्दा दु:ख लाग्छ। जहाँ गएपनि नछाड्ने भयो। आवाज़ उठाउन भने छाड्न हुदैन’, नेपाल उत्पीडित जातीय समाज, नोप्स युरोपका अध्यक्ष अर्जुन सुनार भन्छन्।

केहीले प्रमाणपत्रहरु स्वदेशी विदेशी विश्वविद्यालयबाट लिएका छन् तर चेतना र विवेक भने शुन्य पाइन्छ। युरोप तथा अमेरिकामा भएका दलित समुदायका साथीहरूसँग बेला–बेला यस्ता कुरा हुन्छन्। यस्ता खालका पीडा सबैका साझा हुन्। सबैले भोगिएको छ। दुःख छ हजुर दुःख। हाम्रा पीडा कति छन् कति। मात्र हजुरहरुले त्यो अनुभूत गरिदिनुभयो भने पनि थाहा हुनेछ।

यस्तो लाग्छ यसबाट कहिले मुक्ति पाइएला ! यसबाट मुक्ति कहिले पाउने ? कति समय पर्खने ? कहाँ गएर पाइएला ? हुन त हामी बाँचुन्जेल त्यो सम्भव छदै छैन भन्दा पनि हुन्छ। विश्वको जुन कुनामा नेपाली पुगेको छ त्यहाँ कुनै न कुनै किसिमले जातिय छुवाछुत तथा विभेद पुगेकै छ।

दलित जीवन जो बाँचेको छ, उसले कुनै न कुनै प्रकारको विभेद र अपमान जीवनमा पटक–पटक भोगेको नै छ। मान्छे नठानिँदा कस्तो हुन्छ होला हजुरहरुले कल्पना मात्रै गर्नु होस् त ! नेपालमा हैन पराई देशमा समेत दलित भनेर एक नेपालीले अर्कोलाई कोठा नदिँदा कस्तो होला? न्याय माग्न कहाँ जाने? के कसरी प्रमाण जुटाउने? साथीहरु एकपटक मेरो ठाउँमा आफूलाई राखेर सोंचिदिनुस् है। पक्कै केही महसुस गर्नु हुनेछ।

दलितहरूले पाइलापाइलामा भोग्नुपरेको विभेद, अपमान र दुर्व्यवहारको पीडा गैरदलित समुदायले अनुभूत गरिदिए मात्रै पनि धेरै हुनेछ। मान्छे कहिले ठानिने होला एउटा सिंगो समुदायलाई!

जब नवराज र उनका ८ साथीलाई विभेद गरेरै एकै चिहान बनाइन्छ। रुपा सुनारहरुले विभेद भोग्छन् राज्यसँग न्याय माग्छन् अनि दलित समुदाय र केहि सचेत गैर दलितसमेत अधिकारको आवाज उठाउँछन् अनि सामाजिक सद्भाव भडकने, डलरको वर्षा र दलित आरक्षण/कोटाको विरोधमा ठूलो तप्का उठ्छ। लाग्छ उनीहरुको चेत कहाँ होला? दलित समुदायले कसैको भाग खोजेको  हैन। मात्रै मात्रै मान्छे ठानियोस् र अधिकार दिइयो भन्ने हो। यसोभन्दा किन केही शिक्षित/बौद्धिकहरुको दिमाग तात्छ हँ !