श्रीमतीमाथि एसिड प्रहार गर्न खोजे, छिमेकीले छेक्न खोज्दा उनैमाथि प्रहार

सुनसरीमा एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ हर्दिया बस्ने ३० वर्षीय रोमन राजधामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको सहयोगमा गत शुक्रबार उनलाई पक्राउ गरेको हो। उनी गौशाला क्षेत्रबाट पक्राउ परेको कार्कीले बताए। घटना गत मंगलबार रातिको हो। राजधामीको २८ वर्षीया श्रीमती सरू भन्ने सरस्वती बस्नेतसँग विवाद भएको थियो। उनीहरूको पहिले पनि पटकपटक विवाद हुने गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए।   सो दिन पनि सामान्य विवादबाटै सुरू भएको थियो।

‘श्रीमानले मापसे गरेको रहेछ। श्रीमतीलाई चुरोट ल्याइदिन भनेछन्। नल्याइदिएको विषयमा उनीहरूबीच विवाद सुरू भयो,’ राजवंशीले भने,’त्यत्तिकैमा उनीहरूको झगडा भयो।’

विवाद हुँदा राजधामीले श्रीमती सरूमाथि एसिड प्रहार गर्न खोजे। सरू भने ज्यान जोगाएर घरबाट भागेर छिमेकी श्यामकुमारी धामीको घरमा पुगेकी थिइन्। राजधामी पनि एसिडको बोतल बोकेर श्रीमती सरूलाई लखेटेका थिए। श्रीमती सरूले आफ्नो ज्यान जोगाउन गुहार माग्दै श्रीमतीको घरमा गएर लुकेको प्रहरी निरीक्षक राजवंशीले बताए। उनी ढोका बन्द गरेर लुकेपछि राजधामीले ढोकामा लात्तीले प्रहार गरी खोलेका थिए। त्यसैबेला एसिड प्रहार नगर्न भन्दै श्यामकुमारीले सम्झाउने प्रयास गरेकी थिइन्।

तर राजधामीले श्यामकुमारीमाथि नै एसिड प्रहार गरे। उनको टाउको तथा अनुहारको भागमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

सो देखेपछि छिमेकीहरू २१ वर्षीय सुनम र १९ वर्षीय सुजन राजधामीले छुट्याउने प्रयास गरेका थिए। त्यसक्रममा उनीहरूमाथि पनि एसिडको छिटा लागेर सामान्य घाइते भएका छन्।

गम्भीर घाइते भएकी श्यामकुमारीको म्याक्स अस्पताल विराटनगरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ।

‘श्रीमान घरमै तामाको त्रिशूल बनाउने काम गर्दो रहेछ। काम गर्दा तामा सफा गर्न प्रयोग हुने एसिडले श्रीमतीमाथि प्रहार गर्न खोजेका थिए,’उनले भने।

घटनापछि उनी भागेर काठमाडौं आएका थिए। उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको बताएको छ।

उनीमाथि एसिड आक्रमण (कुटपिट वा अंगभंग सम्बन्धी कसुर) मुद्दामा सुनसरी जिल्ला अदालतबाट पक्राउ परेकै दिनबाट लागू हुने गरी सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।