‘लचिला’ माधव नेपालको जब्बर रूप

पछिल्ला राजनीतिक घटनाक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लिएको अडान र उनको आक्रामक शैली देख्दा धेरैलाई अचम्म लागेको छ। विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओलीसँगकोे टकरावमा उनले लिएको जोखिमपूर्ण रणनीति देख्दा लामो समयदेखि चिन्नेहरू समेत चकित छन्।

किनभने, माधव नेपाल त्यस्ता थिएनन्। आक्रामक शैली उनको स्वभाव थिएन। दृढता उनको परिचय थिएन। उनको बदलिएको स्वभाव र परिचयको कारण थाहा पाउने हो भने लामो राजनीतिक पृष्ठभूमि र पछिल्ला वर्षहरूमा उनले पीडापूर्वक अनुभूत गरेको सार्वजनिक छवि खोतल्नुपर्ने हुन्छ। नेपालले २०५० सालपछि देशको एउटा प्रमुख दल एमालेको १५ वर्ष निरन्तर नेतृत्व गरे। उनले एउटा सशक्त पार्टीको लामो समय नेतृत्व गर्ने मौका त पाए तर उनलाई महत्वपूर्ण राजनीतिक घटनाक्रममा नेतृत्वकारी र निर्णायक कदम चाल्न नसक्ने नेताका रूपमा सधैं चित्रित गरियो। पछिल्लो समय त्यो छविले उनलाई सबभन्दा बढी बिझाउने गरेको थियो।

एमाले पार्टीपंक्तिले नै आफ्नो नेतृत्वलाई राम्रो खेल खेल्ने तर गोल गर्न नसक्ने भनी टिप्पणी गर्ने गर्थ्यो। आफूलाई सरल र सादगी नेताका रूपमा प्रस्तुत गर्दा उनी जति दंग पर्थे, अडान नभएको नेताका रूपमा चित्रित गर्दा त्यति चित्त दुखाउँथे।

मदन भण्डारीजस्ता अत्यन्त लोकप्रिय नेताको मृत्युपछि नेपालले पार्टीको कमान्ड सम्हाले। उनी एमालेको नेतृत्वमा आएलगत्तै माओवादी द्वन्द्व सुरू भयो। विद्रोही माओवादीको दबदबा बढ्दै गएपछि उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउने पहल सुरू गर्न थालियो।

माओवादीलाई बल प्रयोग गरेर नियन्त्रणमा लिने वा वार्तामार्फत् शान्ति प्रक्रियामा ल्याउने दुवै रणनीतिमा राजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा र दाउपेच सुरू भयो।

सेनाको सर्वोच्च कमान्ड सम्हालेका राजा शक्तिशाली रहने त्यो बेला दरबार, नेपाली कांग्रेस र एमाले लगायत शक्तिले त्यसमा आ-आफ्नो भूमिका देखाउन थाले। नेपाली राजनीतिमा सधैं आफ्नो प्रभाव देखाउन चाहने नयाँदिल्ली पनि पर्दा पछाडिबाट खेल्न थाल्यो।

राजदरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनजस्ता अप्रत्यासित प्रकरणले नेपाली राजनीतिलाई नयाँ मोड दियो। त्यसपछि बाह्रबुँदे समझदारी, जनआन्दोलन हुँदै दसवर्षे माओवादी द्वन्द्वको ‘ल्यान्डिङ’ गराउने क्रम सुरू भयो। नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने कोर्सको नेतृत्व गरे।

सरकार र विद्रोही माओवादीबीच शान्ति प्रक्रिया सुरू भयो। बृहत् शान्ति सम्झौता हस्ताक्षर लगायत ऐतिहासिक अवसरहरूमा मुख्यतः दुई नेता सधैं नायकका रूपमा प्रस्तुत हुन्थे — राज्य तर्फबाट प्रधानमन्त्री कोइराला र विद्रोही पक्षको नेतृत्व गर्दै माओवादी अध्यक्ष प्रचण्ड।

यी दुई नेताले हात मिलाउँदा नेता नेपाल किनारामा उभिएर ताली बजाउने साक्षीका रूपमा सीमित हुन्थे।

एकातर्फ प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापतिसमेत रहेका कोइरालाको व्यक्तित्व र अर्कातर्फ दसवर्षे सशस्त्र युद्धको नेतृत्व गरेर मूलधारको राजनीतिमा आएका प्रचण्डको जगजगी। निकै सशक्त पार्टीको प्रमुख हुँदा पनि माधव नेपाल सधैं कोइराला र प्रचण्डको व्यक्तित्वको छायामा परिरहे। शान्ति प्रक्रियाको नेताका रूपमा कोइराला र प्रचण्डलाई मात्र प्रस्तुत गरेकोमा उनको सदैव चित्तदुखाइ रह्यो।

त्यसैले उनी आफ्ना मन्तव्यहरूमा सधैं भन्ने गर्छन्– माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सबभन्दा पहिले उनीहरूसँग सम्पर्क र संवाद गर्ने पार्टी हो एमाले।

एमालेले २०६२ सालमा माओवादीसँग सम्पर्क गरी वार्ताको पहल थाल्न पार्टीबाट निर्णय गराएर नेताद्वय वामदेव गौतम र युवराज ज्ञवालीलाई रोल्पा पठाएको थियो। राज्यका सुरक्षा निकायलाई छक्याएर गौतम र ज्ञवालीले रोल्पामा माओवादीसँग एउटा समझदारी गरेर फर्के। त्यही आधारमा एक महिनापछि मंसिरमा बाह्रबुँदे समझदारी भएको थियो।

त्यसैगरी आफूले निकै जोखिम लिएर भारतको लखनऊ र सिलिगुढी पुगी माओवादी नेताहरूलाई भेटेको प्रसंग उनी सधैं भन्ने गर्छन्। तर त्यसको जस आफूलाई नदिइएकोमा उनको असन्तुष्टि मन्तव्य र अन्तर्वार्ताहरूमा व्यक्त भइरहन्छन्।

नेपालको त्यो मनोविज्ञान राम्रोसँग बुझेका चतुर प्रचण्डले पछिल्ला भाषणहरूमा उनको योगदानको प्रशंसा गर्न थालेका छन्। शान्ति प्रक्रियाका दुई हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला र आफू भएको प्रसंग दोहोर्‍याइरहने प्रचण्डले केही समययता माधव नेपालको पनि विशेष भूमिका रहेको बताउने गरेका छन्।

नेपाल र भारतबीच महाकाली सन्धि भएयता २५ वर्ष बितिसकेको छ। त्यही सन्धिका कारण सिर्जित विवाद चर्केर एमाले पार्टी फुट्यो। त्यति बेला प्रधानमन्त्रीका रूपमा भारतसँग सन्धिमा हस्ताक्षर गर्ने व्यक्ति थिए हालकै प्रधानमन्त्री शेरबहादुर देउवा। विवाद झेलेको पार्टी एमालेका प्रमुख थिए माधव नेपाल। एमाले फुटाएर नयाँ पार्टी माले बनाउने अभियानका नेतृत्वकर्ता थिए वामदेव गौतम। यसरी हेर्दा ओली कहीँ देखिँदैनन्। तर महाकाली सन्धिबारे प्रसंग आउँदा देउवा, नेपाल र गौतमको भन्दा बढी ओलीको चर्चा हुने गर्छ।

ओलीले त्यसको जस र अपजस उत्तिकै पाउने गरेका छन्। उनी सरकार र पार्टी नेतृत्व कतै नभए पनि महाकाली सन्धि पारित गर्नुपर्छ भन्नेमा अग्रपंक्तिमा उभिए र त्यसको लबिङ गरे। यसै कारण लामो समय ओलीको छवि भारतपरस्त नेताका रूपमा बन्यो। तर आक्रामक शैलीकै कारण कुनै एजेन्डाको पक्षमा ओली लागेपछि त्यो काम जसरी पनि फत्ते गरिछाड्छन् भन्ने बुझाइ पार्टीपंक्ति र शक्तिकेन्द्रहरूमा पर्न गयो। यसरी ओलीले जबर्जस्त नेताको छवि बनाए।

२०४८ सालमा पहिलोपटक प्रधानमन्त्री बनेपछि ५० को दशकभर गिरिजाप्रसाद कोइराला जति शक्तिशाली थिए उत्तिकै अलोकप्रिय पनि। त्यति बेला माधव नेपाल र शेरबहादुर देउवाले जटिल राजनीतिक परिस्थितिमा दह्रो अडान लिन नसकिरहेका बेला कोइरालाले आफूलाई दूरदृष्टि भएको नेताका रूपमा स्थापित गरे।

तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ सालमा शासन हातमा लिएपछि कोइरालाले संसद पुनर्स्थापनाको माग अघि बढाए। धेरैले त्यो माग जायज हो वा पूरा हुन्छ भन्ने पत्याएका थिएनन्। कोइराला भने आफ्नो अडानबाट डगमगाएनन्। लामो संघर्षपछि संसद पुनर्स्थापना भइछाड्यो। त्यसले उनको परिपक्वता पुष्टि गर्‍यो। त्यसपछि कोइरालाको अलोकप्रिय छवि सबैले बिर्से।

थप राजनीतिक वैधता र उचाइ हासिल गरेका कोइरालालाई माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र देशमा गणतन्त्र संस्थागत गर्ने जस्ता ऐतिहासिक काम अघि बढाउन थप बल पुग्यो। राजनीतिको उत्तरार्द्धमा त्यसको मुख्य श्रेय उनैले पाए।

यसलाई सबभन्दा नजिकबाट नियालेका नेता हुन् नेपाल। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि उनले भूमिका खेलेका थिए। जनआन्दोलनमा पनि उनको नेतृत्वको एमाले उत्साहपूर्वक सहभागी थियो। मुलुक गणतन्त्रमा जानुपर्ने प्रस्ताव पनि कांग्रेसभन्दा पहिले एमालेले नै पारित गरेको थियो, त्यो पनि उनकै प्रस्तावमा।

यति हुँदाहुँदै नेपालले ‘अडान नभएको नेता’ भन्ने पगरी पाइरहे।

उनको यस्तो छवि बन्नुमा केही घटनाले काम गरेका थिए। जस्तो, दरबार हत्याकाण्डपछि गठित छानबिन आयोगमा बस्न तयार भएका उनी त्यसको सार्वजनिक आलोचना भएपछि त्यसबाट पछि हटे। आफ्नै निर्णयमा अडिन नसक्ने भनी त्यसले ‘ब्याकफायर’ गर्‍यो।

प्रतिगमन आधा सच्चियो भनेर तत्कालीन देउवा सरकारमा एमाले सहभागी हुने निर्णय त नेपालका लागि सधैंभरीको घाँडो भएको छ।

राजा ज्ञानेन्द्रले शासन पूरै हातमा लिएपछि दोस्रो जनआन्दोलनसम्म आइपुग्दा कोइरालासँग काँधमा काँध मिलाएर अघि बढेका नेपालले उक्त संघर्ष क्रममा आफूलाई खरो उतारेका हुन्। राधाकृष्ण मैनालीजस्ता शीर्ष तहका वामपन्थी नेताले राजालाई साथ थिए। ओली पनि त्यति बेला केही ढलमलाए। ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्ने ओलीको चर्चित भनाइ त्यतिखेरकै हो। कतिपय अवस्थामा वामदेव गौतम र दरबारको सम्बन्धबारे पनि प्रश्न उठ्यो।

तर नेपाल डगमगाएनन्। उनले आफूलाई गणतन्त्रका पक्षमा पूर्ण रूपमा उभ्याए। आन्दोलन उत्कर्षमा पुगेका बेला दरबारसँग सहमति गरी आन्दोलन रोक्न अन्तर्राष्ट्रिय शक्तिहरूको दबाब बढ्दै जाँदा उनले आक्रामक रूपमा गरेको प्रतिवाद त्यति बेला चर्चामा आएकै हो।

आफूमाथि दबाब बढ्दै जाँदा कोइरालाले पनि कतिपय अवस्थामा त्यस्ता व्यक्तिहरूलाई नेपालकहाँ पठाउँथे। नेपालले आन्दोलनमा ‘कम्प्रोमाइज’ गर्ने कुनै प्रस्ताव स्वीकार्य नहुने बताउने गरेका थिए। आन्दोलनकारीलाई कुनै द्विविधामा नपर्न भनी उनैले सम्बोधन गरे।

२०६६ सालमा प्रधानमन्त्री बनेपछि माओवादीले सरकारलाई घुँडा टेकाउने भन्दै काठमाडौं घेराऊ गर्‍यो। नेपाल डगमगाएनन्। सार्वजनिक रूपमै माओवादीलाई ललकारे। माओवादी आन्दोलन तुहिने ठोकुवा गरे। नभन्दै जनदबाब बढ्दै गएपछि माओवादी आन्दोलन फिर्ता लिन बाध्य भयो। तर त्यसको जस पनि नेपालले लिन पाएनन्। त्यो बेला पनि माओवादीप्रति सबभन्दा आक्रमक भाषण ओलीले नै गर्थे।

पार्टीभित्र ओलीको उपस्थिति र गठबन्धनमा नेपाली कांग्रेसजस्तो बलियो पार्टीका कारण मात्र नेपालले माओवादी ‘तह’ लगाउन सकेको सन्देश गयो। माओवादीसँग भिड्ने नेताका रूपमा ओलीकै छवि स्थापित भयो।

ओलीले पनि पार्टीभित्र क्रमशः शक्ति आर्जन गर्दै गए। २०७० को चुनावमा एमालेले राम्रो नतिजा ल्याएर दोस्रो ठूलो पार्टी बन्यो। ओलीले एमालेको संसदीय दल र पार्टी अध्यक्ष बन्ने योजना बुने। संसदीय दलको नेताको चुनावमा माधव नेपालले तत्कालीन अध्यक्ष झलनाथ खनाललाई खुलेर समर्थन गरे र ओलीको विपक्षमा उभिए।

प्रतिस्पर्धामा रहेका खनालभन्दा उनलाई जिताउन नेपाल बढी खटे। सधैं समन्वयकारी भूमिकामा देखिने नेपाल खनालको पक्षमा त्यसरी खुलेर लागेको देख्दा एमाले सांसदहरू आश्चर्यचकित देखिन्थे। तर ओलीले जिते। खनालले नतिजालाई सहज रूपमा लिँदा नेपालले भने स्वीकार्न नसकेको झल्किन्थ्यो। त्यसपछि ओलीले महाधिवेशनमा नेपाललाई पराजित गर्दै पार्टी अध्यक्ष पनि बने।

त्यो बेला सुरू भएको ओली–नेपाल प्रतिस्पर्धा अहिलेसम्म जारी छ।

एमाले अध्यक्ष बनेपछि ओलीले नै वर्षौंदेखि अड्किएको संविधान निर्माण प्रक्रिया अघि बढाउने कार्यभारमा जोड दिए।

तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डसहित दलहरूबीच संविधान निर्माण प्रक्रिया अघि बढाउने सहमति जुट्यो।

संविधान लेखनले गति लिँदै र मुख्य विवादका विषयलाई समेत छिचोल्दै नेताहरू अघि बढ्न थालेपछि स्वाभाविक रूपमा त्यसविरुद्ध असहमत पक्षहरूको विरोधका आवाज पनि मुखर हुँदै गए। संविधान निर्माण प्रक्रिया अघि बढाउनेमा प्रमुख दलका सबै नेता एकमत थिए। तर विरोध गर्नेहरूको सबभन्दा कडा प्रतिवाद ओलीले गरे।

त्यति बेला प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व सुशील कोइरालाले गरेका थिए भने संविधानसभाको नेतृत्व एमाले नेता सुवास नेम्वाङले गरेका थिए। तर संविधान निर्माणका विषयमा सबभन्दा बढी ताली र गाली सम्भवतः ओलीले नै पाए।

संविधान जारी भएपछि भारतले नेपालविरूद्ध गरेको नाकाबन्दीको पनि सबभन्दा डटेर ओलीले नै विरोध गरे।

नाकाबन्दीकै क्रममा ओली प्रधानमन्त्री बने। त्यसपछि उनले जसरी नाकाबन्दीको सामना गरे त्यसको भरपुर फाइदा उनले २०७४ को चुनावमा लिए। एमालेलाई सबभन्दा ठूलो पार्टी बनाए र पुनः प्रधानमन्त्री बने।

माओवादीसँग कार्यगत एकता गरी चुनाव जितेका ओली दोस्रोपटक प्रधानमन्त्री बने। त्यसपछि ओली स्वयंले अस्वाभाविक महत्वाकांक्षी सपना बाँड्न थाले भने उनका कट्टर कार्यकर्ताले ओलीको देवत्वकरण सुरू गरे।

माओवादीसँग पार्टी एकता गरेपछि त्यो क्रमले सीमा नाघ्यो। दुई अध्यक्षात्मक व्यवस्थासहित पार्टी एकीकरण गरेका प्रचण्डसँग ओलीको जोडी कस्सियो।

एकीकरणपछि पार्टीमा केही समय ओली–प्रचण्ड जोडीको जगजगी सुरू भयो। उनीहरूको रवाफ चुलियो। नेपालले जसरी शान्ति प्रक्रिया बेला आफू गिरिजा–प्रचण्डको छायामा परेको अनुभूति गरेका थिए, ठिक त्यही परिस्थिति उनले फेरि सामना गर्नुपर्‍यो।

पार्टी बैठक तथा सार्वजनिक मञ्चमा स्वाभाविक रूपमा दुई अध्यक्षको विशेष स्थान हुने नै भयो। त्यसमाथि भक्त कार्यकर्ताहरूले दुई नेताको देवत्वकरण सुरू गरे। पार्टी बैठकमा दुई अध्यक्षको फोटोसमेत राख्न थालियो। नेपाल र उनीपक्षीय नेताहरूले त्यसको विरोध गरे।

ओली–प्रचण्डले नेपालबिनै फटाफट निर्णय गर्न थाले। नेपालले आफूलाई पाखा पारिएको अनुभूति गरेपछि मुख खोल्न थाले। दुई अध्यक्षबीच सहमति भएर मात्र त्यो पार्टी निर्णय मान्न नसकिने आवाज उठाए। उनले कुनै विषय पार्टी कमिटीमा छलफल भएर विधिवत् निर्णय हुनुपर्ने अडान लिए। कतिपय अवस्थामा एक्लै ‘नोट अफ डिसेन्ट’ लेखे।

पन्ध्र वर्ष पार्टी नेतृत्व गरेको, राजा वीरेन्द्रदेखि ज्ञानेन्द्रसम्मलाई सामना गरेको, मदन भण्डारीदेखि मनमोहन अधिकारीसँग सहकार्य गरेको र गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा र सहकार्य गरेको ठान्ने नेपालले ओली शक्तिमा आएपछि आफूले अपमान र अन्याय सहनुपरेको आफूनिकटहरूसँग पटकपटक बताउने गरेका छन्।

बालुवाटार जग्गा प्रकरणमा आफूलाई सिध्याउने योजना नै बनाइएको उनको बुझाइ छ।

जब ओली र प्रचण्डबीच विवाद सुरू भयो, त्यसपछि भने नेपालले ओलीविरूद्ध उभिने जमिन भेटे। त्यसको भरपुर सदुपयोग पनि गरे।

विगतमा नेपालको कार्यशैलीको मुख्य विशेषता नै संयोजनकारी हो। स्वच्छ छवि कायम राख्न उनको विशेष जोड रह्यो।

ओलीले भने ठिक उल्टो रणनीति अख्तियार गरे। उनको सधैं आक्रामक शैली र प्रभावशाली नेताको छाप छाड्ने ध्येय देखिन्छ। एउटा पक्षमा उभिँदा अलोकप्रिय भइन्छ भन्ने डर ओलीमा देखिएन। नेपालमा भने लोकप्रियताको लोभ र अलोकप्रिय भइन्छ कि भन्ने भय सधैं देखिन्छ।

शक्तिको पूजा गर्ने र शक्तिकेन्द्रको संरक्षण खोज्ने नेपाली समाजको ठूलो तप्काले बोली र व्यवहारमा आक्रामक नेतालाई सधैं साथ दिएको देखिन्छ। त्योसँगै आफ्नो अडान भएको नेताप्रति स्वाभाविक रूपले आकर्षण देखिन्छ।

आफ्नो लामो राजनीतिक करिअरमा समन्वयकारी र स्वच्छ छवि बनाउन ध्यान दिएका नेता नेपालले गिरिजाप्रसाद कोइराला, प्रचण्ड र ओलीसँगको प्रतिस्पर्धामा पछि परेपछि आफूले बोक्नुपरेको ‘ढुलमुले’ छविविरूद्ध लड्ने अठोट गरेको देखिन्छ। त्यसका लागि उनी ‘आक्रामक र अडानवाला’ इमेज निर्माणमा लागिपरेका छन्।

त्यसैले यसपटक उनी ‘माधव नेपाल को हो भन्ने देखाइछाड्छु’ र ‘ओलीलाई साइजमा ल्याएरै छाड्छु’ भन्नेमा दृढ देखिन्छन्।

एकातिर ओलीसँगको द्वन्द्व छँदैछ, अर्कातिर आफ्नो बलियो छवि निर्माणमा उनी यति दृढ छन्, सधैं पार्टीको विधि, पद्धति सबभन्दा सर्वोच्च हुनुपर्छ भन्ने नेपालले यसपालि पार्टी निर्णयविरूद्ध शेरबहादुर देउवालाई विश्वासको मत दिलाएरै छाडे।

‘देउवालाई एमालेका अरू कसैले विश्वासको मत नदिए पनि म एक्लै भए पनि दिन्छु। मैले दिएको वचन पूरा गर्छु,’ उनले सार्वजनिक रूपमै भने।

सामूहिक निर्णयमा विश्वास गर्ने कम्युनिस्ट पार्टीका शीर्षनेताले यसो भन्नु चानचुने कुरा होइन।

समन्वयकारी, लचिलो र सदाचारी नेताका रूपमा प्रस्तुत हुँदा आफू सधैं छायामा परेको अनुभूति गर्ने गरेका नेपालले यसपटक जबरजस्त रूपमा आक्रामक र जोखिमपूर्ण शैली अपनाएका छन्। सायद अब उनलाई अरू जे भनेर आलोचना गरे पनि ‘ढुलमुले’ भन्ने आलोचना फिट हुन्न।

गलत होस् वा सही, लागेको कुरामा उभिने र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्ने नेताका रूपमा उनले आफ्नो छवि ‘रिमेक’ गरेका छन्।

जुन कुराले उनी विगतमा पिरोलिने गरेका थिए, सायद ऐनामा आफूलाई हेर्दा त्यो कुराले अब उनलाई पोल्ने छैन।