रिसले फुलेकी साहुनीको पसल

आफैं त उत्तर हिमालदेखि दक्षिण महाभारतसम्मै तन्किएको लाम्चो धादिङ। सदरमुकाम धादिङबेशी उस्तै लाम्चो। तीन किलोमिटरजति लामो बजारमा तीनै खण्ड छन्। सिरान बजार। बीच बजार। र, पुछार बजार। मूल सडकमा रहेका तीन-चार वटा चोकबाट दायाँबायाँ दुवैतिर अरू बजार फैलिँदै छन्। ती बजार र जिल्लाका अन्य ठाउँका पसलको अनुगमन गर्ने टोली दुई महिनादेखि निरन्तर फन्को मारिरहेछ।

असारको अन्तिमतिर फन्को धादिङबेशीकै हुन्छ। एउटा फलफूल पसल। पसल भित्र-बाहिर कोही देखिँदैन।

पल्लोपट्टि तरकारी पसलमा पैसा साट्दै गरेकी महिलालाई सोधिन्छ- यो पसलको साहुजी कता हुनुहुन्छ?

छिमेककी साहुनी, ‘के काम हो?’

हामी पसल अनुगमन गर्न आएका। यताको साहुजीलाई बोलाइदिनू ल!

‘मै हो।’

ए साहुनी पो! तरकारी पसल पनि तपाईंकै हो?

‘होइन।’

अनि किन पसल छाडेर त्यहाँ?

‘यो पसलको साहु बाहिर गएको भएर हेरिदिएको।’

भनेपछि छिमेकको होइन, यतैको साहुनी पर्नुभएछ।

‘अरूको पसल हेर्नु हुँदो रहेछ, आउनुस् तपाईंकै पसल हेरौं’ भनेर बोलाउँदा ड्रेसमै भएका, आइडी भिरेका टोलीलाई बेवास्ता गर्दै नमज्जैले झर्किएर भनिन्, ‘त्यही त हो नि पसल। हेर्नु न। तपाईंहरू जहिल्यै बन्द हुने बेला आउने। दुःख दिने।’

साँझ ६ बजे बजार बन्द गराउँदै आएको सशस्त्र प्रहरीको भ्यान रोकेर तरकारी पसल बन्द गराएपछि बल्ल साहुनी आफ्नो पसल प्रवेश गर्छिन्। अनुगमन सुरू हुन्छ।

साइनबोर्ड खै साहुनी?

‘भर्खर खोलेको पसल। साइनबोर्ड बनाउन दिएको छ।’

ए, कहिले खुलेको नि?

‘३ वर्षजति भयो।’

तीन घन्टामा तयार हुने चिज तीन वर्ष भइसक्दा समेत छैन। तुरून्त बनाएर राख्नू है।

आफ्नो पसलमा अनुगमन आउँदा समेत बेमतलबी। अर्काको तरकारी बेच्न व्यस्त। टोलीले जिल्लाभर छ सय पसल हेरिसक्दा पहिलो पटक हो यस्तो अटेरी बिक्रेता देखेको।

राजेन्द्र सर झल्याँस्स फ्ल्यास-ब्याकमा जान्छन्।

पोहोर साल। सुनौला बजार। एकजना यिनै साहुनीजस्ता रूखा साहुजी टोलीलाई भन्दैछन्, ‘अनुगमन भन्या छ। सरकारी गाडी चढ्या छ। बिदाको दिन सरकारी तेल सक्या छ। घुम्या छ। भत्ता पाएको छ। मासुभात खाएको छ। व्यवसायीलाई दुःख दिएको छ।’

गाली गर्दै तलैसम्म पछ्याएको।

फ्ल्यास-ब्याकमा गएर भएन। दर्ता प्रमाणपत्र जेनतेन मागेर राजेन्द्र सर फारम भर्न बसे। खुद्रा किराना र फलफूल बेच्ने अनुमति रहेछ। मुश्किलले आउजाउ गर्न मिल्ने साँघुरो पसलभित्र किशोरजी छिरेर हेर्न थाले।

भद्रगोल तरिकाले छरिएका सामान। भुइँमा पानीका पेटी। त्यसमाथि चाउचाउका कार्टुन। टपमा रियो जुस। सो केसमा क्यान जुस, हर्लिक्स, ग्लुकोज, चोकोपाइ आदि। र्‍याकभित्र चुरोट। टेबलमा चकलेटका बट्टाहरू। टेबलअगाडि केही क्यारेट फलफूल। त्यसमा कुहिएका केही आँप र केही अनार।

सद्दे र बिग्रिएका फलफूल एकै ठाउँमा मिसाउन हुन्छ र साहुनी?

‘कुहिएको निकालेर बुंगुरलाई खुवाउने हो।’

उसोभए बुंगुरलाई खुवाउने र मान्छेलाई बेच्ने सामान एकै ठाउँमा राख्न मिल्छ!

साहुनी सुनेको नसुन्यै गर्छिन्।

विशालले भित्रैबाट चाउचाउको कार्टुन खत्र्याक्क सडक पेटीमा हुर्‍याएसँगै पेटी र पसलको जोड-घटाउ सुरू हुन्छ। झोकमा फ्याँकेको होइन, ‘एक्सपायर’ सामान छुट्याएर भित्र राख्ने ठाउँ नपुगेर। सामानहरू पसलबाट घट्दै पेटीमा थपिँदै जान्छन्।

न साइनबोर्ड। न मूल्यसूची। न बिल। फोहोर उस्तै। फलफूल पसलमा चुरोटका बन्डल छन्। मिठाइको बट्टामा हालेका सूर्तीका ५२ पाकेट भेटिए। जुगौंदेखि सफा गर्नै बिर्सिएको फ्रिज। झ्वाट्ट खोल्दा झन्डै वान्ता गरेनन् किशोरले। भित्र डिउ, फेन्सी (फेन्टाजस्तै देखिने ब्रान्ड), कोकाकोला, पेप्सी, मिला क्यान जुस र लिची जुस गरी ३५ लिटर जति म्याद गुज्रिएका पेय पदार्थ। फ्रिज झन्डै झन्डै रित्तियो।

पसलका कुना, कन्दरा, दराज, फ्रिजबाट पेय पदार्थ, बन, केक, बिस्कुट, चाउचाउ, मःमः मसला, चकलेट, दालमोठ के-के हो के-के गरी दुई-बीसभन्दा बढी प्रकारका म्याद गुज्रिएका र बेच्ने अनुमति नभएका सूर्ति, चुरोट निस्किन्छन्।

सामान निकाल्दै जाँदा रिसले फुलेझैं लाग्छिन् साहुनी।

साहुनीजस्तै पसलभित्रका सबै सामान पनि फुले फुलेझैं लाग्छन्। मसलाका बट्टा डम्म परेका। बिस्कुटहरू ओसिएर ढाडिएका। स्याउका दाना पुक्क परेका। फुल्न त मुटु पनि फुलेको होला अनुगमनको डरले। तर जे-जे फुले पनि यस्ता सामानका कारण उपभोक्ताको शरीर, मुटु, कलेजो, आन्द्रा फुल्नु भएन।

फुलेकी साहुनी त्यतिबेला हावा एक्कासि फुस्किएर मुर्झाएको बेलुनझैं भइन् जब लापरबाही र हेलचेक्र्याँइका लागि दस हजार रूपैयाँ जरिवाना लगाइन्छ। कर्म अनुसारको फल न हो। जरिवाना गरिएको फारम अनुरोधसहित साहुनीको हातमा थमाइन्छ।

अघिदेखि फुल्दै गएकी साहुनी यहाँनिर ‘फुलनदेवी’ हुन्छिन्, ‘यत्रो सामान लगेर पुगेन? अझ केको जरिवाना? तिर्दिनँ।’

चोकमा ड्युटी खटिएका हवलदार र महिला प्रहरीलाई बोलाइन्छ, ‘यस्तो लापरबाही रहेछ यो पसलमा, तपाईंहरूले ध्यान दिनुपर्‍यो।’

महिला प्रहरी भन्छिन्, ‘सर यो पसलले हामीलाई त टेरपुच्छर लाउँदैनथ्यो। हामी वाक्कै भइसकेका थियौं। सशस्त्र प्रहरीलाई आयो भने अलिकति टेरेजस्तो गर्ने, सटर झार्ने, एकछिन पछि फेरि खोल्ने। साह्रै अटेरी। सरहरूले जरिवाना गर्नुभएछ। गर्नैपर्ने थियो।’

जरिवाना तिर्न अटेर गरे सहयोग लिनुपर्ला भनेर बोलाएको प्रहरीको छक्कै पार्ने प्रतिक्रिया नै प्रहरी आफैं पीडित रहेको प्रमाण भयो। अब प्रहरीको मनोबल बढाउन तिनलाई नै अघि सार्नुपर्छ। सम्झाइ-बुझाइ गर्न पठाइएकी महिला प्रहरी भन्छिन्, ‘हामीलाई त खुब अटेरी गर्थ्यौ। सरहरूले जरिवाना गरिसक्नुभयो। अब विकल्प छैन। जरिवाना तिर्ने, नत्र पसल सिल हुन्छ।’

‘पैसा सैसा छैन? कहाँबाट ल्याउनू दस-दस हजार? श्रीमानको फोन नि लाग्दैन। भोलि तिर्छु।’

तिर्नसम्म सहमत भएपछि अब राजेन्द्र सर भन्छन्, ‘यो त अन द स्पट कारबाही हो। भोलि-पर्सि हुँदैन। आजै तिर्नुपर्छ। अहिल्यै तिर्नुपर्छ। श्रीमानको नम्बर दिनुस् मै कुरा गर्छु।’

भित्तामा टाँसिएको परीक्षाको नतिजा हेर्दा फेल भएको विद्यार्थी भीडबाट फुत्त निस्किएजस्तै साहुनी नम्बर नदिएर लुसुक्क बाहिर निस्किइन्। अनुगमनको नतिजामा साहुनी पनि फेलै थिइन्। पसलपछाडि गएर केहीबेर हराइन्। श्रीमान खोज्न गइन् वा पैसा!

मानिसहरू कोही छानाबाट, कोही बार्दलीबाट, कोही सडक पारिबाट, कोही मोटरसाइकल रोकेर सडकबाटै नियाल्न थालिसकेका थिए।

म उनीहरूमाझ गएर बुझाउन थालेँ, ‘त्यो पसलमा धेरै अखाद्य सामग्री भेटिए। पैसा तिर्नुपर्ने, अखाद्य वस्तु पनि उपभोग गर्नुपर्ने, अनि स्वास्थ्य पनि बिग्रिने हुन्छ। तपाईंहरू नै हो उपभोक्ता, सामान किन्दा सचेत हुनुहोला।’

साहुनी धमाकेदार ‘कमब्याक’ गर्दै सिधै काउन्टरमा ‘इन्ट्री’ गर्छिन्। ‘क्यास’ निकाल्छिन्। केही थान एक हजारका, केही पाँच सयका गरेर दस हजार टेबलमाथि राख्छिन्। फारममा हस्ताक्षर गर्छिन्। जरिवाना रसिदमा हस्ताक्षर गर्न दिँदा महिला प्रहरीलाई भन्दै थिइन्, ‘सबै सामान लगिसक्यो, पैसा नि लग्यो। रसिद के काम? चाहिँदैन।’

पसल हेरियो। जफत गरियो। जरिवाना गरियो। अनुगमन सकियो। जाँदाजाँदै केही कुरा भन्न खोज्दा सुन्न नखोजेपछि लिखित सुझाव दिइयो। साहुनीले पढ्ने काम गर्लिन्-नगर्लिन् थाहा भएन। असल व्यवसायी हो भने पढ्नु पर्नेछ। जानेबेलामा जफत गरेका सामग्री राख्न एउटा बोरा माग्दा भन्छिन्, ‘छैन बोरा सोरा।’

साहुनीको पारा उस्तै। ‘शोले’ फिल्मको ‘अंग्रेजके जमानेका जेलर’ जस्तो सुध्रिने नामै नलिने। विशाल भाइलाई भनेँ, ‘भाइ त्यो रातो क्यारेटमा हाल। पुगेन भने अर्को क्यारेट लेऊ। भोलि फिर्ता ल्याइदिम्ला।’

विशालले त्यसै गरे। पेय पदार्थका बोतल गाडीपछाडि यत्तिकै हालियो। चाउचाउ कार्टुनमै राखियो। बाँकी सामान रातो क्यारेटमा खाँदखुँद पारियो। सधैं रसिलो फलफूल बोक्ने रातो क्यारेटलाई आज अजिब-अजिब लागिरहेको होला। सूर्ति-सूर्ति गन्हाएर, बासी-बासी फुस्फुसाएर अटेसमटेसै भयो होला।

उपभोक्ताले म्याद गुज्रिएका सामग्री प्रयोग गरेर क्यारेटजस्तो अटेसमटेस हुनु नपरोस्। व्यवसायीले अनुगमन टोलीसँग जस्तोसुकै व्यवहार गरून् तर उपभोक्ता स्वास्थ्यमाथि खेलबाड नगरून्। जय उपभोक्ता!

(लेखक उपाध्याय धादिङका सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन्।)