रवीन्द्र मिश्रजी, मार्ग परिवर्तन होइन राजनीतिबाट अवकाश

रवीन्द्र मिश्रको मार्ग परिवर्तनसम्बन्धी निबन्ध मिडियामा आउनासाथ एकै बसाइमा पढेँ। त्यसमा मिश्रको भाषामा निखार र अडानमा प्रष्टता छ। धेरैपल्टको पुनर्लेखनबाट त्यसले अन्तिम रूप पाएको हुनुपर्छ।

४४ पृष्ठको निबन्धका विषयवस्तुमा लामो बहस हुन सक्छ। अहिले नै अनेक कोणबाट त्यसमा प्रतिक्रियाहरू आइरहेका छन्। मलाई भने त्यो पढिसकेपछि लाग्यो, त्यहाँ लेखिएकाभन्दा नलेखिएका तर त्यसको पृष्ठभूमिमा रहेका कुरा धेरै महत्वपूर्ण छन्। र तिनबारे अहिले बहस हुनैपर्छ।

फरक प्रकारको अर्थात् वैकल्पिक राजनीतिमा धेरै नेपाली युवाको जस्तै मेरो पनि विशेष चासो छ। झन्डै एक दशकदेखि विवेकशील नेपाली दलको उत्पत्ति, विकास र आरोह–अवरोहलाई मैले बाहिरैबाट तर चाखपूर्वक नियालिरहेको छु। यसैबीच साझा पार्टी स्थापना हुनुअगाडि मिश्रले नयाँ राजनीतिक दल खोल्ने विषयमा चलाएको संवादका क्रममा दुई पल्ट मैले उनलाई भेटेको पनि थिएँ।

दोस्रो भेटमा बन्नै लागेको साझा पार्टीमा संलग्न हुने विषयमा ‘म सोच्छु’ भनेर म छुट्टिएँ। मैले सोचेर संलग्न नहुने विचार गरेँ र मिश्रलाई सन्देश पठाएँ। त्यसयता म जिम्मेवार मतदाता भए पनि कुनै राजनीतिक दलमा आबद्ध छैन। तर यो अवधिमा विवेकशील नेपाली दल, साझा पार्टी, विवेकशील साझा पार्टी र अहिलेको विवेकशील पार्टी सबैलाई मैले नजिकबाट हेरिरहेको छु। तिनीहरूको वर्तमान र भविष्यबारे प्रशस्त चिन्ता र चिन्तन पनि गरेको छु।

त्यसबाट मलाई के लाग्छ भने रवीन्द्र मिश्रले व्यक्तिगत भनेर सार्वजनिक गरेको निबन्धलाई उनले हालसम्म गरेको राजनीतिबाट छुट्याएर उनको आफ्नै वैचारिक अभ्यासका रूपमा मात्रै हेर्न मिल्दैन। दोस्रो पल्ट बनाइएको विवेकशील साझा पार्टीका एक अध्यक्ष वा संयोजकका रूपमा त्यो निबन्धका विषयहरू पूरापुर मिश्रको राजनीतिक रणनीतिका रूपमा बाहिर आएका छन्। पार्टीभित्र र बृहत्तर राष्ट्रिय राजनीतिमा निश्चित एजेन्डाहरू स्थापित गर्ने उनका प्रयास अब कसैबाट लुकेको छैन।

त्यसैले तिनमाथि त्यही गम्भीरताका साथ बहस हुनुपर्छ।

समस्याको जडः राजनीतिको आत्मगत बुझाइ

साझा पार्टी खुल्नुअघसदेखि नै नेपाली राजनीति र राजनीतिक दल निर्माणबारे मिश्रको बुझाइ मलाई बालसुलभ लाग्थ्यो- समाजमा विभिन्न क्षेत्रबाट नाम कमाएका, इमान र सुझबुझ भएका बौद्धिकहरू जम्मा भएर पार्टी खोल्ने। मानिसहरूलाई कुरा बुझाएर विश्वस्त पार्ने। चुनाव लडेर मत लिने। चुनाव जित्ने र सुशासन दिने।

सिद्धान्ततः राजनीतिको योभन्दा राम्रो ब्लुप्रिन्ट अरू हुन सक्दैन। तर हाम्रो जस्तो जटिल समाजमा सीधा रेखामा हिँड्ने यस्तो राजनीतिले काम गर्ला त भन्नेमा मलाई सुरूदेखि नै गहिरो संशय थियो।

तर परम्परागत राजनीतिक दलहरूले दिक्कै बनाएका बेला यो मोडलले काम गरिहाल्ने पो हो कि? मै पो आत्मगत र गलत छु कि? काम गर्न खोज्नेलाई दुविधाको सुविधा किन नदिने? राम्रो परिणाम आए आइहाल्यो, नआए पनि प्रयोग र प्रयास गर्दा के नै बिग्रन्छ र?

यस्तो सोचेर मैले वैकल्पिक राजनीति गर्न तम्सिने कसैसँग पनि यो प्रश्न गरिनँ।

तर रवीन्द्र मिश्रको पछिल्लो निबन्ध प्रकाशनपछि मलाई लागेको छ, त्यस्तो प्रयोग र प्रयासको नतिजा सकारात्मक वा शून्यमध्ये एक नभई नकारात्मक पनि हुन सक्दो रहेछ। त्यसैले वैकल्पिक राजनीतिका नाममा नेपालमा अहिलेसम्म जे भयो त्यसमाथि गम्भीर प्रश्नहरू उठाउनै पर्ने भएको छ।

बाल्यकाल र किशोरकालमा हामीले संसार बदल्ने अनेक आदर्शवादी सपना देख्छौं। उमेर बढ्दै जाँदा यथार्थसित ठोक्किँदै गएपछि ती सपनाह्यरू पातलिँदै जान्छन्। आखिर हामीले यथार्थसित सम्झौता गर्दै गएर त्यसमा बाँच्न सिक्छौं। त्यस क्रममा जसले नैतिकता गुमाउँदैन र आफूबाहेक अरुका बारेमा पनि सोच्छ, उसले संसारै नबदले पनि समाजमा केही छाप छोडेर जान्छ। जसले नैतिकता गुमाउँछ र अरूलाई आफू माथि पुग्ने भर्‍याङ बनाउँछ, उसले पनि छाप त छाड्छ तर समाजको खलपात्रका रूपमा।

यथार्थ के भने, अरूका लागि बाँच्न र काम गर्न सजिलो छैन। त्यसका लागि त्याग, तपस्या र बलिदान आवश्यक हुन्छ।

मेरो विचारमा व्यक्तिजस्तै राजनीतिक पार्टीका हकमा पनि यो कुरा लागू हुन्छ। समाज दोहन गर्नकै लागि पार्टी खोलेर चलाउने हो भने दोहनबाट हात लाग्ने धनले नेता र कार्यकर्तालाई खुसी पार्न मात्रै सक्दा पनि सक्रिय राजनीतिक पार्टी चल्छ। उदाहरण खोज्न टाढा जानै पर्दैन।

तर निःस्वार्थ रूपमा समाज माथि उठाउन राजनीति गर्ने हो भने त्यसले दशकौंदेखि जीवनभरसम्मको त्याग र बलिदानको माग गर्छ। त्यस खाले राजनीतिमा सफल हुने पार्टीको उदाहरण भेट्न चाहिँ निकै टाढा पुग्न पर्न सक्छ।

त्याग–तपस्याको त्यो लामो र अप्ठ्यारो बाटो हिँड्न के तयार होलान् वैकल्पिक राजनीतिमा लागेका साथीहरू? रवीन्द्र मिश्रलगायत उनीहरूलाई मूल्यांकन गर्ने मेरो कसी सधैं यही रहँदै आएको छ। आज पनि यही कसीका आधारमा मैले मिश्रलाई मूल्यांकन गर्दैछु।

मिश्रले मार्न नसकेको छलाङ र मार्ग परिवर्तन

मिश्रको अहिलेसम्मको राजनीतिकर्मबारे मेरो बुझाइ के हो भने, पुराना दलप्रतिको वितृष्णा उपयोग गर्दै तीव्र छलाङ मारेर धमाकासाथ मूलधारको राजनीतिमा स्थापित हुने उनको पहिलो प्रयास २०७४ सालको स्थानीय चुनावका बेला देखिएको थियो।

उनको सरल रेखामा हिँड्ने राजनीतिको प्रारम्भिक परीक्षण त्यतिखेरै भएको थियो। त्यो प्रयास त्यतिखेरका लागि असफल भयो। त्यसपछि उक्त असफलताबाट पाठ सिकेर कठिन र संघर्षपूर्ण राजनीतिको लामो र बांगोटिंगो बाटो तय गर्न उनी तयार भएको भए त्यो निकै उत्तम हुन्थ्यो। विकल्पका रूपमा उनले आफ्ना लागि दलीय राजनीति रहेनछ भनेर विनम्रतापूर्वक त्यहाँबाट बिदा हुन पनि सक्थे।

तर मिश्रले तेस्रो र दुर्भाग्यपूर्ण बाटो रोजे जसले आज उनको राजनीतिक जीवनलाई मात्र नभई नेपालको वैकल्पिक राजनीतिलाई नै असाध्यै अप्ठ्यारो बिन्दुमा पुर्‍याइदिएको छ। त्यो बाटो थियो विवेकशील नेपाली दलको ससानै भए पनि बनिसकेको पार्टी संरचनालाई हत्याएर त्यसको भरमा माथि पुग्ने।

उनको साझा पार्टीले त्यसबेला विवेकशीलसँग गरेको एकीकरण वास्तवमा एकीकरण नभई पार्टीको संरचना हत्याउने प्रयास मात्रै थियो भन्ने कुरा पछि गएर घटनाक्रमले पुष्टि गरे। त्यो प्रयासमा उनी सफल पनि भए। दशकभन्दा लामो समय भुइँ तहमा संघर्ष गरेर आएका उज्ज्वल थापाहरू विवेकशील साझाबाट फुटेर फेरि विवेकशील नेपाली दलमा फर्कने बेलासम्म पहिले जम्मा गरेको अधिकांश राजनीतिक पुँजी गुमाइसकेका थिए। नेपालको वैकल्पिक राजनीतिले नै आफ्नो चमक गुमाइसकेको थियो।

त्यो काम मिश्रले एक्लै गरेका थिएनन्। उनले जम्मा गरेको र एकीकृत पार्टीको शीर्ष नेतृत्वमा रहेको महत्वाकांक्षी मानिसहरूको सानो झुन्डले त्यो काम फत्ते गर्‍यो। भुइँ तहबाट उठेको राजनीतिबाट नभइ खाली आफ्नो खुबी र पराक्रमको भरमै नेपालको मुहार फेर्ने अहंकारी सपना पालेका उनीहरूका लागि राजनीति जीवन समर्पित गरेर होमिनुपर्ने विषयभन्दा बढी फुर्सदको बसिबियाँलो थियो।

मिश्रले जम्मा गरेको ‘बौद्धिक र इमानदार’ मानिसहरूको मुख्य समस्या के भने विचारहरूको इमानदार मन्थनमार्फत आफैं पनि बदलिन र फरक मत राख्नेहरूसित सम्झौता गर्दै जान उनीहरू तयार थिएनन्। हरेक कुरामा प्रश्न गर्ने पार्टीभित्रका युवाहरू उनीहरुका लागि अबोध बालबालिका थिए जसका कुरा सुनेर गुन्नुभन्दा उनीहरूलाई शिक्षित गर्नु जरूरी थियो।

त्यसरी नै खुरुखुरु पुराना दललाई भोट हालिरहने मतदाता पनि बालबालिका नै थिए। उनीहरूलाई शिक्षित गरेर वयस्क बनाउँदै समाज फेर्ने महाअभियानको अर्को नाम नै साझा पार्टी थियो।

यस्तो आत्मरतिमा आधारित राजनीतिले पार्टीलाई कतै पुर्‍याउन सक्दैनथ्यो, पुर्‍याएन। परिवर्तन र बलिदानकै समेत हुटहुटीसहित इमानपूर्वक त्यो पार्टीमा जोडिएका धेरै युवाहरू सधैं त्यही नेतृत्वको छायामा लाचार भए र बिस्तारै दिग्भ्रमित बन्दै गए।

परिणाम- मिश्रले नेपाली समाज र यहाँको राजनीतिलाई खासै बदल्न त सकेनन् तर वैकल्पिक राजनीतिमा आफ्नो प्रतिस्पर्धी बन्न सक्ने विवेकशील नेपाली दललाई गम्भीर रूपमा क्षयीकृत गरे। वैकल्पिक राजनीतिले नयाँ अनुहार सत्तामा नपुर्‍याए पनि देशको राजनीतिलाई अलि सङ्ग्लो पार्छ कि भनेर आशा गर्नेहरूलाई निराश बनाए। उनको पार्टीमा जोडिएर गतिशील रूपमा लोकतान्त्रिक राजनीति अभ्यास गर्न पाइन्छ कि भनेर त्यहाँ लाग्ने युवालाई दिग्भ्रमित बनाए।

उनको पहिलो मार्ग परिवर्तनको नतिजा त्यही थियो।

मार्ग परिवर्तन २ः जटिल समस्याका सरल समाधान

मिश्रका सुरूदेखिका कुरा मान्ने हो भने नेपाली राजनीतिमा सयौं वर्षदेखि थुप्रिएका जटिल समस्याको एउटै सरल समाधान पुराना पार्टीलाई हराएर साझा पार्टीलाई चुनाव जिताउनु थियो।

मिश्रको दोस्रो मार्ग परिवर्तनसम्बन्धी उल्लिखित निबन्धमा नेपालका जटिल समस्याहरूको उस्तै सरलीकृत चित्रण गर्दै तिनको समाधानका लागि उनले सजिलो बाटो निकालेका छन्।

उनी भन्छन्- नेपालमा अहिले रहेका सारा समस्याको जड भनेको हुनु नपर्ने तर २०६३ सालपछि हठात् ‘लादिएका’ संघीयता र धर्म निरपेक्षता अनि गलत रूपमा अभ्यास भएको गणतन्त्र हो। तिनको सरल समाधान संघीयता खारेजी, धर्म निरपेक्षताबारे जनमत संग्रह अनि गणतन्त्रको सुधार गर्नु हो।

युगौंसम्म जवाफ भेट्न हम्मे पर्ने जटिल सामाजिक, राजनीतिक र आर्थिक समस्याको एक हरफको समाधान खोज्ने रोग अहिले संसारभर व्याप्त छ। जसले त्यस्तो श्यामश्वेत समाधानको एजेन्डा बोक्छ, उसले सजिलै जनमत बटुल्ने गरेको पनि देखिन्छ। मानिसहरूको ध्यान खुम्चिँदै गएको सामाजिक सञ्जालको युगमा एउटा नारामा अटाउने यस्ता एजेन्डा बोक्न पनि सजिलो हुन्छ।

अमेरिकामा डोनाल्ड ट्रम्पले ‘आप्रवासीहरूले अमेरिकालाई थला पारे, तिनलाई रोकेपछि अमेरिका फेरि महान हुन्छ’ भने। बेलायतमा नाइजल फराज र बोरिस जोन्सनहरूले गलपासो जस्तो युरोपियन युनियनलाई पन्छाउन सके बेलायत महान् भइहाल्छ भने। फिलिपिन्समा रोड्रिगो दुतेर्तेले लागुऔषध कारोबारी र प्रयोगकर्तालाई सिध्याएपछि फिलिपिन्समा फलिफाप भइहाल्छ भने।

बहुमत जनसंख्याले तीनै ठाउँमा नेताको कुरा पत्याए। चुनाव जिताए। नेताहरूको सत्तारोहण भयो तर नागरिकहरूले अपेक्षित परिणाम पाएनन्।

नेपालमा पनि सारा संकटको जननी संघीयता, गणतन्त्र र धर्म निरपेक्षता हो भनेर कमल थापाले निरन्तर भन्दै आएका छन्। लोभलाग्दा युवा नेता महेश बस्नेतले केही समयअगाडि थापाको होमा हो मिलाएका छन्। अब मिश्रले होमा झनै चर्को हो मिलाएका छन्।

यथार्थ के भने, हाम्रा समस्या श्यामश्वेत छैनन्र र तिनको समाधान पनि त्यति सजिलो छैन। तर मिश्रको निबन्ध पढिसकेपछि लाग्छ नेपालमा दुई-तिहाई बहुमतबाट संघीयता फालेर धर्म निरपेक्षतामाथि जनमत संग्रह गर्ने हो भने हाम्रा सबै समस्या निमिट्यान्न भएर जानेछन्। देशको प्रशासनिक खर्च कम हुनेछ, भ्रष्टाचार ठप्प हुनेछ अनि देश अखण्ड र बलियो हुनेछ, नेपालीहरू सुखी र खुसी हुनेछन्।

बुद्धि-विलासका लागि यस्तो प्रस्ताव ठिकै हुन सक्ला। तर दशकौंको संघर्ष, अनेक आन्दोलन, दुई संविधानसभाका चुनाव आदिको परिणामपछि नेपालमा अहिले जुन राजनीतिक व्यवस्था छ, त्यसलाई खल्बल्याउने हो भने त्यसको परिणाम के हुन सक्छ भन्ने कुराको स्वाद हामीले २०६३ पछि दशकभर तन्केको संक्रमणकालमै चाखिसकेका छौं। नेपालको हकमा एकात्मक हिन्दु राजतन्त्र सयौं वर्षदेखि र संवैधानिक राजतन्त्र २०४७–२०६५ को अवधिमा परीक्षित भइसकेकाले ती व्यवस्था फर्काउँदैमा चमत्कार हुँदैन भन्ने इतिहासले प्रमाणित गरिसकेको छ।

लोकतन्त्रमा मेरो वा अरू कसैसित विमति राख्दै फरक व्यवस्थाको पैरवी गर्न मिश्र स्वतन्त्र छन्। उनले फरक मत राख्नु समस्याको विषय होइन। समस्या के हो भने, खुम्चिइसकेको विवेकशील नेपाली दललाई फेरि फुटाएर विवेकशील साझा-२ बनाएका उनले नेपालको वैकल्पिक राजनीतिलाई फेरि एकपल्ट आमवृत्तमा कलंकित भइसकेको पञ्चगामी एजेन्डातिर धकेलेर फेरि थला पार्ने प्रयास गरेका छन्। अनि समग्र वैकल्पिक राजनीतिलाई आलस्य र गतिहीनताबाट थप बदनामीतिर धकेलेका छन्।

अनि पार्टीमा अझै पनि बचेका र सही अर्थमा राजनीति गर्न चाहने युवाहरूको राजनीतिक भविष्य नै संकटमा पारिदिएका छन्।

चुनौतीहरूलाई संकटका रूपमा अतिरञ्जना

मिश्रको निबन्ध पढ्दा नेपालमा संघीयता र धर्म निरपेक्षताले ल्याएका समस्याहरूप्रति उनको अत्याहटलाई बुझ्न कठिन पर्छ। पहिले संघीयताका विरोधीहरूले प्रक्षेपण गरेझैं नेपालका प्रदेशहरूले विखण्डनलाई मलजल गरेका छैनन्। प्रदेशहरूबीच काटमार चलेको छैन। एउटा प्रदेशबाट अर्को प्रदेशमा जान प्रवेशाज्ञाको आवश्यकता पर्दैन।

संविधानको परिकल्पना र सम्भावनाअनुसार नागरिकको सेवा गर्न प्रदेशहरूले नसकेको कुरा साँचो हो, तिनका कारण प्रशासनिक खर्च केही बढेको पनि साँचो हो। तर त्यस्तो असफलता प्रणालीको हो कि त्यसलाई चलाउन खटाइएका पात्रहरूको हो भनेर घोत्लिने हो भने संघीयताको सफलता मापन गर्ने बेला अझै भइसकेको छैन जस्तो लाग्छ। संघीयताले देश बर्बाद गरेको भन्ने भाष्यलाई अहिलेसम्मको यथार्थले किमार्थ पुष्टि गर्दैन।

जहाँसम्म भविष्यमा संघीयताका कारण विखण्डन हुन सक्छ भनेर निबन्धमा मिश्रले बारम्बार भनेको कुरा छ, त्यो कतै ढुंगामा वा कसैको निधारमा लेखिएको छैन। कुनै पनि कानुनी वा संवैधानिक प्रावधान आफैंले परिणाम दिइहाल्ने हैन। त्यसलाई हामीले गर्ने कार्यान्वयनमा धेरै कुरा अडिएको हुन्छ। सही रूपमा कार्यान्वयन गर्दै जाने हो भने अझै पनि संघीयता विखण्डनको कारण नभई देशको सन्तुलित विकासको माध्यम बन्न सक्ने देखिन्छ।

त्यस्तै धर्म निरपेक्षताका विरोधीहरूले सुरूमा प्रचार गरेझैं नयाँ संविधान बनेसँगै धर्मावलम्बीहरूको आफ्नो आस्थाको धर्मको अभ्यास गर्न र तीर्थस्थलमा जान कुनै अवरोध छैन। धर्म परिवर्तनको क्रम नेपालमा लामो समयदेखि जारी भए पनि नयाँ संवैधानिक व्यवस्थाकै कारण त्यो बढेको वा आकासिएको भन्ने आधार छैन। धार्मिक सहिष्णुताको नेपाली चरित्रमा पनि खासै फरक आएको छैन।

यो अवस्थामा मिश्रले दर्जनौंपल्ट दोहोर्‍याएर इंगित गरेको संघीयता र धर्म निरपेक्षताका कारण आकाशै खस्न लागेजस्ता समस्या र संकट के हुन्? यो समयमा विनाआधार तिनलाई उराल्नुको औचित्य के हुन सक्छ? यस्तै निबन्धहरूबाट त्यस्ता संकटको कुरा उरालेर ‘सेल्फ फुलफिलिङ प्रोफेसी’ सिर्जना गर्न खोजेका त होइनन् मिश्रले?

खास गरी हिन्दु राष्ट्रको ‘जायज’ माग सुनुवाइ नगर्दा हिन्दुवादीहरूको अतिवादी राजनीति हावी हुन सक्छ भन्ने उनको जिकिर विश्लेषणभन्दा पनि धम्की प्रतित हुन्छ। उनले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र फर्काउने अभियानलाई उग्र हिन्दुत्वको राजनीति रोक्ने उपायका रूपमा चित्रण गरे पनि यथार्थमा त्यसको परिणाम उल्टो हुने अर्थात् नेपाली समाजमा भारतमा झैं धार्मिक राजनीति मूलधारमा आउने निश्चित देखिन्छ।

यसरी लामो समय लोक कल्याणकारी राज्यजस्ता रंगीन पहिरनहरूभित्र लुकाएर राखिएको मिश्रको असली राजनीतिक दर्शन निबन्धमा टड्कारो रूपमा प्रकट भएको छ। त्यो गुदी भारतका आरएसएस–भाजपाले अभ्यास गर्ने हिन्दुत्वको राजनीतिभन्दा तात्विक फरक हुनेछ भन्नेमा मेरो आशंका छ। त्यसमाथि पनि पछिल्ला केही वर्षहरूमा आफ्ना विचार र दर्शनबारे पार्टी पंक्ति र आम मानिसमा उनले जति भ्रम छाडेर छलछाम गरेका छन्, त्यो हेर्दा ‘म जे सोच्छु, देशको भलाइकै लागि सोच्छु’ भन्ने उनको दाबीलाई पत्याइहाल्न पनि मुश्किल छ।

त्यो राजनीतिले आज भारतलाई कहाँ पुर्‍याएको छ भन्ने कुरा हामीसामु छर्लंग भइरहँदा ‘सुसंस्कृत राजनीति’को छलकारी नारा लगाएर पार्टीमा गोलबद्ध गरिएका युवालाई हिन्दुत्वको राजनीतितिर डोर्‍याउने जस्तो भद्दा र खतरनाक राजनीतिक बेइमानी मोरे विचारमा अर्को हुन सक्दैन।

इतिहासको पुनः रचना र आम नागरिकको मानमर्दन

‘०६२-०६३ को आन्दोलनमा कता लाग्यो संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको नारा?’ अबोध स्कुले बालकले झैं अहिले सोध्दैछन् कमल थापा, महेश बस्नेत र रवीन्द्र मिश्रहरू।

दोस्रो जनआन्दोलन मूलभूत रूपमा देशको राजनीतिक र सामाजिक यथास्थितिविरूद्ध थियो। राजाको सक्रिय शासन मानिसलाई अस्वीकार्य थियो, माओवादीको सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण सबैको इच्छा थियो।

राजाको सक्रिय शासनको वैधताको स्रोत के थियो? दैवी। त्यस्तो ‘दैवी’ वैधता जबसम्म आम नागरिकलाई मान्य थियो, तबसम्म राजा र राजसंस्था पनि मान्य थिए। त्यो अवस्थामा कसैले पनि नेपालमा धर्म निरपेक्षता र गणतन्त्र थोप्न सक्दैनथ्यो।

तर २०५८ सालको दरबार हत्याकाण्डले नेपालको समाजलाई झक्झक्याएर ब्युँझाइदियो- राजाहरू त भगवान विष्णुका अवतार नभई आम मानिसको जस्तै पारिवारिक झगडा हुने, मदिरा र लागुऔषध सेवन गर्ने, अनि झगडामा गोली हानाहान भयो भने मारिन सक्ने लौकिक प्राणी पो रहेछन्!

आम नेपालीको चेतनामा राजतन्त्रको स्थान गणतन्त्रले लिँदै गर्दा त्योसँगै जोडिएर अभ्यासमा रहेका हिन्दु राज्य र एकात्मक राज्यजस्ता विषयहरू पनि प्रश्नको कठघरामा खडा भए। त्यस यताका सबै चुनावहरूमा एकात्मक हिन्दु राज्य नभए नेपालमा प्रलय हुन्छ भन्नेहरू जनतासामु पुगेकै छन्। हरेकपल्ट उनीहरू अस्वीकृत पनि भएकै छन्।

यो सारा लोकतान्त्रिक प्रक्रियालाई एकातिर पन्छाएर पश्चिमा वा अरू कसैले सरक्क यो एजेन्डा नेपालमा स्थापित गरिदिए भन्नुजस्तो नेपाली नागरिकको विवेक र लोकतान्त्रिक प्रक्रियाको अपमान केही हुन सक्दैन। हाम्रो लोकतान्त्रिक व्यवस्थामाथि सारभूत रूपमै विश्वास नगर्ने पात्रहरूले लोकतन्त्रमा विश्वास गर्छौं भन्नुको पनि कुनै तुक छैन।

‘जनता जति मूर्ख, मै मात्र जान्ने’ भन्ने मिश्रको त्यस खाले अधिनायकवादी अडानले नेपाली नागरिकहरूको विवेक र निर्णयलाई निषेध गर्ने डर लाग्दो प्रयास गरेको छ। अनि उक्त निबन्धमार्फत उनले अबोध बच्चासरह खुरुखुरु विदेशीको एजेन्डा र इशारामा भोट हालिरहेका मतदातालाई सही बाटो देखाउने प्रयास गरिरहेका छन्।

निबन्ध पढेपछि मलाई लाग्यो, नेपालीहरूको चेतनाले २०५८ मा जुन फड्को मार्‍यो, रवीन्द्र मिश्र त्यसबाट छुटेछन्। इतिहासको त्यो पल्लो किनारा, जहाँ नेपाल एकात्मक हिन्दु राष्ट्र थियो, नेपालीहरू धर्मभीरू थिए, राजा लोकप्रिय र प्रश्नको घेराभन्दा माथि थिए, अनि राजनीतिज्ञहरू बदनाम थिए, मिश्र अहिले पनि त्यहीँ छन्।

अनि उमेर र चेतना दुवैका हिसाबले दुई दशकअघि बढेका सहयात्री नागरिकहरूलाई इतिहासको त्यही किनारबाट उनले गिल्ला गरिरहेका छन्, ‘ए अबुझ रैतीहरू हो, अरूले थोपरिदिएको धर्म निरपेक्षता, संघीयता र गणतन्त्रको भारी कहिलेसम्म बोकेर हिँड्छौ? यी यता हेर त राजा कति लोकप्रिय छन्, अनि एकात्मक राज्य कति बलियो समृद्ध र स्वर्गजस्तो छ।’

मिश्र र विवेकशील साझाको अबको बाटो

म अझै पनि उक्त निबन्ध लेख्दाको मिश्रको मनोभाव र ‘मोटिभ’बारे प्रष्ट हुन सकेको छैन।

राजनीतिको डुंगा कसै गरे पनि पार लागेन, यसलाई अहिले चलिरहेको संघीयताविरोधी हावाले अलि पर धकेलिदिन्छ कि भनेर उनले त्यसो गरेका हुन्?

कि छिमेकमा समाज बर्बाद भए पनि भाजपा बलियो राजनीतिक शक्ति भएकाले दीर्घकालमा धर्मको राजनीतिको विकल्प रहेनछ भनेर?

वा एउटा अलोकप्रिय प्रधानमन्त्री गएर अर्को अलोकप्रिय प्रधानमन्त्री आएको बेला अस्थिरता र अन्योल सिर्जना गर्न सके, संघीयता र धर्म निरपेक्षतालाई बदनाम गरेर तिनबारे अधिकतम वितृष्णा फैलाउन सके अहिलेको लोकतान्त्रिक परिपाटी धराशायी बनाउन सकिन्छ र त्यसपछि सिर्जित अराजकताबाट केही राजनीतिक लाभ भइहाल्छ भनेर?

निबन्धको ‘मोटिभ’ जेसुकै भए पनि परिणाम मेरो विचारमा एउटै भएको छ- नेपालको राजनीतिमा रवीन्द्र मिश्रको औचित्य अब सिद्धिएको छ। निधारमा अनुदार हिन्दुवादी राजनीतिको ठप्पा लगाइसकेपछि उनी जति पछिसम्म कथित वैकल्पिक राजनीतिमा ठाउँ ओगटेर बसिरहन्छन्, त्यति नै नेपालका भ्रष्ट र अकर्मण्य ठूला राजनीतिक दलहरू समाज र देशका रूपमा नेपालका लागि सापेक्षतः कम हानिकारक देखिइरहनेछन् र चुनाव जितिरहनेछन्।

२०७४ मा राजनीतिबाट संन्यास नलिएर मिश्रले पहिलो ठूलो गल्ती गरे। अब २०७८ मा त्यो गल्ती नदोहोर्‍याउन्। उनी आफैं त्यसलाई दोहोर्‍याउन चाहे भने पनि गत दुई दशकमा सबै नेपालीसँगै चेतनाको यात्रा गरेका उनको दलका युवाहरूले उनीसितको सम्बन्ध तोडून्।

यतिका वर्ष उनका कुरा सुनिसकेपछि अब आँखा जुधाएर उनलाई भनून्- मिश्रजी, तपाईंको असफलता वैकल्पिक राजनीति वा नेपाली राजनीतिको असफलता होइन। तपाईंको कुण्ठा पार्टीको विचार र दर्शन हुन सक्दैन। तपाईंलाई जस्तो सुकै भए पनि फरक मत राख्ने र त्यसको आधारमा राजनीति गर्ने पूरापुर अधिकार छ। तर भविष्यतिर फर्केर लोकतान्त्रिक वैकल्पिक राजनीति गर्न भनेर होमिएका युवाहरूलाई छिर्के हानेर उनीहरूको समेत राजनीतिक भविष्य समाप्त पार्ने अधिकार छैन।

अनि मिश्रलाई राजनीतिबाट संन्यास लिन वा पछि फर्कन छाडिदिएर आफूहरू चाहिँ स्वविवेकका आधारमा भविष्यतिर यात्रा गरून्!

मिश्रलगायत नेपालको वैकल्पिक राजनीतिमा लाग्ने सबै साथीहरूको सदाकालीन शुभेच्छुकका नाताले मैले कामना गर्न सक्ने यत्ति हो।