एनआरएनएमा हाम्रो र राम्रो नेतृत्व आवश्यक : खेम शर्मा

अध्ययनको सिलसिलामा सन् २००८ मा अष्ट्रेलिया आएका खेम शर्मा नेपाल र अष्ट्रेलियासँगै गैरआवासीय नेपाली समुदायमा प्रिय छन्।

छोटो समयमा व्यवसायीक सफलतासँगै अभियन्ताको परिचय बनाएका शर्मासँग बहुआयामिक व्यक्तित्व पनि जोडिएको छ ।

नेपालको विमानस्थल सरसफाइ गरेपछि एकाएक चर्चामा आएका खेमले आफू विदेश आएर जानेको र भोगेको कुनै पनि शिप र अनुभव मुलुकको हितका खातिर प्रयोग गर्न सके त्यो नै सबैभन्दा ठूलो स्वदेशप्रतिको जिम्मेवारी हुने कुरा प्रमाणित गरिसकेका छन्।

व्यवसायसँगै शर्मा विभिन्न संघसंस्था एवं व्यक्तिगत रुपमा सामाजिक कार्यमा सक्रिय छन्। हरेक विषयलाई सकरात्मक रूपमा लिने र आत्माअनुशासनलाई जीवनको मुल सिद्धान्त बनाउन रूचाउने शर्माले हालै आफ्नो परिचय लेखकका रुपमा समेत थप्न सफल भए।

हालै मात्र शर्माको गैरआख्यान ‘स्वर्णिम रहस्य’ पुस्तक बजारमा आएको छ । जीवनका संघर्षको गोरेटोमा भोगेका अनुभव र अनुभूति संगालेर खेमले लेखको सो कृति केहि दिनमै दुई हजार प्रति बिक्री भइसकेको छ।

आफूलाई लेखक नभइ सामाजिक अभियन्ता भन्न रूचाउने खेमले गैर आवासीय संघको सदभावना दूतका रूपमा समेत नेपालमा सरसफाइका कैयन उदाहरणीय कार्य गरेर नामसँगै पहिचान पनि कमाए।

हाल एनआरएन अस्ट्रेलियाको निर्वाचन पूर्वसन्ध्यामा खेम भन्छन्, ‘सबैको भावना समेट्ने हाम्रो अर्थात हामी सबैको अपनत्व हुने र राम्रो अर्थात काम गर्न सक्ने क्षमता भएको एनआरएन नेतृत्व अहिलेको आवश्यकता हो।’

सन् २०१५ देखि एनआरएन अभियानमा सम्मीलित खेम तत्कालिन अध्यक्ष भवन भट्टको कार्यकालमा  क्लीन नेपालको संयोजक थिए। ‘जिम्मेवारी सानै किन नहोस् , चाहे त्यो कृषि होस् या सरसफाई वा प्रविधि। यसलाई मुलकसँग जोड्ने प्रयास गर्नुपर्ने अहिलेको आवश्यकता हो’, खेमले सेतोपाटीसँग भने, ‘आफू संस्थाको सामान्य सदस्य भएर काम गरिरहँदा पनि सन्तुष्ट छु।’

सबै नेपालीको भावनासँग जोडिएको नेतृत्व अहिलेको प्रमुख आवश्यकता रहेको उनले बताए। ‘राजनीति सबैले गर्छन् तर यो परोपकारी संस्थामा भने राजनीतिक प्रवेशलाई सदाको लागि बन्द गर्नुपर्छ,’ उनले भने, ‘हामी विदेशमा बसेर स्वदेशको माया गर्ने सिंगो प्रवासी नेपाली जमातमा पनि राजनीति घुसाएर विभाजनको रेखा कोर्ने काम कसैले गर्नु हुँदैन, यसले संस्थाको गरिमालाई घटाउने मात्र होइन, व्यवसायीक ब्यक्तीत्वको प्रवेशमासमेत बाधा पुर्‍याउने मैले अनुभव गरेको छु।’

सम्भावनाको निकै ठूलो भूमिका रहने भन्दै उनले अस्ट्रेलियाको एनआरएन संसारमा उदाहरणीय बन्नु पर्ने खेमको जिकिर छ। ‘करिब दुई लाख नेपाली रहेको अस्ट्रेलियामा १५ हजार सदस्य बनाउँदैमा नाक फुलाउने स्थिति हुँदैन, कम्तीमा पनि यहाँ बस्ने पचास प्रतिशत नेपाली यसको सदस्य बन्नुपर्छ र त्यसका लागि नेतृत्वले पहल गर्नुपर्छ।’

मतदाता, उमेदवार र नेतृत्व सबैमा अनुशासनको खाँचो रहेको उनले औल्याए। ‘एकलाई मात्र दोष दिने ठाएँ छैन। तर सदस्यताको सवालमा निर्वाचनको मुखमा आएर मात्र सदस्यता बाढ्ने र बनाउने कुरामा भने मेरो असहमती रहन्छ’, उनले भने।

निकै ठूलो सम्भावना बोकेको एनआरएनले आफ्नो सामुदायिक भवन र कार्यालय बनाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको भन्दै उनले अस्ट्रेलियाको सवालमा पनि यो सम्भव रहेको दाबी गरे। ‘मतदाताहरुले हाम्रो र राम्रो नेतृत्वलाई चुन्नुपर्ने बेला आएको छ। चिनेको जानेको र भनसुनका आधारमा नभए व्यक्ति समाज र देशको लागि उचित नेृतत्वको खोजी मतदाताले गर्न सक्नुपर्छ। यसका लागि हामी भोटर्सले उच्च् र्नैतिकता देखाउनु जरूरी हुन्छ’, उनले भने,‘होइन भने राजनीतिक प्यानल र सिन्डीकेटबाट बनेको टिमले कसैको हितमा काम गर्न सक्दैन र दीर्घकालीन रुपमा नकारात्मक असर पर्नसक्छ।’

मुलुकको पर्यटन प्रर्वधन अनि शिप ज्ञानलाई नेपाल पुर्‍याउनु जरूरी रहेको भन्दै उनले भने, ‘जिताउने त राम्रालाई नै हो । हाम्रालाई राम्रो बनाएर जिताउन सक्यौ भने तिनले तपाई, हाम्रो र मुलुक हितका काम गर्न सक्छन्।’

ठूला ठूला कागजी योजना नभइ साना साना प्रभावकारी कामको सुरुआत हामी आफैबाट सुरू गरेमा एनआरएन साच्चीकै लक्ष्यमा सफल हुने उनले बताए।

‘पहिलो कुरा भनेको हामी विदेशमा रहँदा नेपाली मात्रै हौ, बरू देशमा गएपछि आ–आफ्नो विचारमा रम्न सकिएला। त्यसैले बिदेशमा आएर यो पार्टी र त्यो पाटी भन्ने कुराको विरोधी हुँ म’, उनले भने, ‘एनआरएनमा पनि यसले जरा गाडेको छ, यसलाई हामीले जरैदेखि उखेलेर फाल्नुपर्ने छ। अनि मात्र साच्चीकै परोपकारी भावनाले प्रेरीत मानिस यस संस्थामा प्रवेश पाउनेछन्।’

उनले व्यक्तिगत पहिचान, अनुभव र अध्ययन भएका समाजिक व्यक्तीत्वलाई संस्थामा अगाडि ल्याउनुपर्ने भन्दै भोलिका दिनमा संस्थाले सोचे अनुरूप काम गर्नका लागि पनि गैर राजनीतिक व्यक्ति संस्थामा आवश्यक रहेको बताए।

‘दलगत राजनीतिमा चुर्लुम्म डुबेका मानिसको प्रवेसले एकातिर नकारात्मक सन्देशको प्रवाह गर्छ भन्ने अर्कोतर्फ प्रतिपक्ष विचार बोक्ने ठूलो जमातलाई निषेधको राजनीति सुरू गर्छ’, उनले भने, ‘जुन अहिलेको संस्थाको सबैभन्दा ठूलो कमजोरी बन्न पुगेको छ। पार्टीले विज्ञप्ति निकालेर एनआरएनमा भोट माग्ने र नेताको उपस्थितिमा उमेदवारी घोषणा गर्ने कामले एनआरएन अभियानलाई समेत कुरीकुरी गरेको छ।’